कांग्रेस विभाजनले निर्वाचनमा असर पर्दैन : पुष्पकमल दाहाल ‘प्रचण्ड’


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसको विभाजनले आगामी निर्वाचनमा कुनै असर नपर्ने स्पष्ट पारेका छन् । शुक्रवार चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले काँग्रेस फुटका कारण निर्वाचन प्रभावित हुन्छ कि भन्ने आशङ्का निराधार रहेको बताएका हुन् ।

निर्वाचनको मुखमै ठुलो राजनीतिक दल विभाजन हुनु राम्रो सङ्केत नभए पनि यसले निर्वाचन प्रक्रियामा अवरोध नआउने प्रचण्डको भनाइ थियो । सरकारका प्रतिनिधि, निर्वाचन आयोग तथा सुरक्षा निकायसँग भएको छलफलका आधारमा पनि निर्वाचनमा कुनै समस्या नहुने निष्कर्षमा पुगिएको उनले बताए । सबै राजनीतिक दल निर्वाचनतर्फ केन्द्रित भइसकेकाले निर्वाचन निश्चित हुनेमा ढुक्क रहन आग्रह गर्दै उनले जनतालाई भ्रममा नपर्न पनि अनुरोध गरे ।

प्रचण्डले आफ्नो दलका तर्फबाट प्रत्यक्षतर्फको टिकट वितरण प्रक्रिया सुरु भइसकेको जानकारी दिँदै अहिलेको राजनीतिक परिस्थितिमा निर्वाचन बाहेक अन्य कुनै विकल्प नरहेको उल्लेख गरे । निर्वाचन बाहेकका विकल्पमा सोच्न थाल्दा राजनीतिक दुर्घटना निम्तिन सक्ने खतरा रहेको उनको चेतावनी थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले पुरानो प्रशासकीय भवन जीर्ण हुँदा सेवाग्राहीलाई असहज भएको अवस्थालाई ध्यानमा राखेर नयाँ भवन निर्माण गरिएको जानकारी दिइन् । महानगरका अनुसार ५३ करोड ३२ लाख ४१ हजार रुपैयाँ लागतमा निर्माण भएको ६ तले नयाँ प्रशासकीय भवनबाट अब सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्