निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई आधिकारिकता


काठमाडौं । निर्वाचन आयोगले नेपाली काँग्रेसको विशेष महाधिवेशनलाई औपचारिक रूपमा मान्यता दिएको छ । शुक्रवार बसेको आयोगको बैठकले गगन थापाको नेतृत्वमा चयन भएको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिलाई आधिकारिकता प्रदान गरेको हो । यस निर्णयसँगै नेपाली काँग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डामाथिको अधिकार पूर्व सभापति शेरबहादुर देउवाबाट समाप्त भएको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू सगुनशमशेर जबरा, जानकी तुलाधर तथा आयोगका सचिवबिच भएको छलफलपछि काँग्रेसको आधिकारिकता विवाद समाधान गरिएको हो । अबदेखि पार्टीका प्रत्यक्ष मनोनयनदेखि संगठनात्मक निर्णय र कार्यवाहीसम्म गगन थापा–विश्वप्रकाश शर्मा समूहका निर्णयहरू नै वैधानिक र आधिकारिक मानिने आयोगले स्पष्ट गरेको छ ।

नेपाली काँग्रेसको बहुमत महाधिवेशन प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चयन भएका थिए । सभापति चयनपछि बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयसहित थापाले निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्दै आवश्यक कागजात पेस गरेका थिए । आयोगले सबै प्रक्रिया र दस्ताबेजको अध्ययनपछि थापा नेतृत्वको केन्द्रीय समितिलाई पार्टीको वैधानिक नेतृत्वका रूपमा मान्यता दिएको हो ।

प्रतिक्रिया दिनुहोस्