बेलबारी । बेलबारी नगरपालिका वडा नं. ३ मा सम्पन्न दोस्रो टोल स्तरीय रनिङ शिल्ड फुटबल लिग प्रतियोगिताको उपाधि राधाकृष्ण खोरिया टोल विकास संस्थाले हात पारेको छ। फाइनल खेलमा सिम्पाने टोल विकास संस्थालाई ट्राई–ब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै राधाकृष्ण खोरियाले उपाधि चुमेको हो ।
आज सम्पन्न फाइनल खेलको निर्धारित समय २–२ गोलको बराबरीमा सकिएको थियो । यसअघि पहिलो टोल स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा पनि राधाकृष्ण खोरिया र सिम्पानेबीच नै फाइनल प्रतिस्पर्धा भएको थियो । त्यस बेला पनि खेल २–२ गोलको बराबरीमा सकिएपछि ट्राई–ब्रेकरमार्फत राधाकृष्ण खोरियाले उपाधि जितेको थियो । लगातार दोस्रो पटक उपाधि जितेसँगै राधाकृष्ण खोरियाले प्रतियोगितामा आफ्नो वर्चस्व कायम गरेको छ ।

अब तेस्रो संस्करणको टोल स्तरीय रनिङ शिल्ड फुटबल लिग प्रतियोगितामा पनि उपाधि जित्न सके ५२ तोलाको चाँदीबाट बनेको रनिङ शिल्ड स्थायी रूपमा प्राप्त गर्ने अवसर राधाकृष्ण खोरियालाई प्राप्त हुनेछ । करिब २ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको उक्त शिल्ड चाँदीको मूल्य वृद्धिसँगै अझ मूल्यवान् बन्दै जाने आयोजक बेलबारी ३ वडा कार्यालयले जनाएका छन् ।
यस संस्करणको प्रतियोगितामा विजेता राधाकृष्ण खोरियाले २५ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता सिम्पाने टोल विकास संस्थाले २० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र हात पारेको छ । खेलको ‘म्यान अफ द म्याच’ सिम्पाने टोल विकास संस्थाका खेलाडी रिकल वि.क. घोषित भए भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी राधाकृष्ण खोरियाका निकेत मगर घोषित भए ।
फाइनल खेलअघि आजै सम्पन्न अन्तिम सेमिफाइनलमा राधाकृष्ण खोरिया टोल विकास संस्थाले मौनावारी टोल विकास संस्थालाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै राधाकृष्ण खोरियाले खेल मात्र खेलेन, लगातार दोस्रो पटक उपाधि जित्न पनि सफल भयो ।

प्रतियोगिता बेलबारी नगरपालिका वडा नं. ३ का वडा सदस्य भोगेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको हो । समापन समारोहमा वडा अध्यक्ष योगेन्द्र सुवेदी, वडा सदस्य चन्द्र राई, विभिन्न टोल विकास संस्थाका अध्यक्षहरू तथा स्थानीय व्यक्तित्वहरूको उपस्थितिमा विजेता र उपविजेता टिमलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।
स्थानीय स्तरमा खेलकुद विकास, युवाको प्रतिभा प्रस्फुटन र सामाजिक एकता मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले बेलबारी–३ मा उत्साहपूर्ण वातावरण सिर्जना गरेको आयोजकले बताएका छन् ।


