काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत आजदेखि सुरु भएको मतदान प्रक्रिया भृकुटीमण्डपमा जारी रहेको छ ।

बिहान सवा ९ बजेदेखि औपचारिक रूपमा सुरु भएको मतदानमा साँझ ७ बजेसम्म करिब १ हजार १ सय प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गरेका छन् । पार्टी निर्वाचन आयोगका अनुसार महाधिवेशनमा सहभागी हुने कुल प्रतिनिधिको संख्या २ हजार २ सय ६२ जना रहेको छ । मतदानको गति हेर्दा सबै प्रतिनिधिले मतदान गर्न बिहीबार बिहान ७ बजेसम्म समय लाग्ने अनुमान गरिएको छ ।

पार्टी निर्वाचन व्यवस्थापनमा संलग्न रामलक्ष्मण इनोभेसन प्रालिका प्रतिनिधि लक्ष्मण रिमालका अनुसार मतदान विद्युतीय मेसिनमार्फत भइरहेको छ, जसका कारण प्रक्रिया पारदर्शी र व्यवस्थित बनेको छ । यद्यपि प्रत्येक मतदातालाई मत खसाल्न करिब २५ देखि ४० मिनेटसम्म समय लाग्ने भएकाले मतदान प्रक्रिया अपेक्षाकृत लामो हुन गएको छ ।

यस महाधिवेशनमा अध्यक्षसहित १९ जना पदाधिकारी, ३०१ जना केन्द्रीय सदस्य तथा तीनवटा आयोगका पदाधिकारी चयनका लागि मतदान भइरहेको छ । केन्द्रीय सदस्यका केही पद भने यसअघि नै निर्विरोध चयन भइसकेका छन् ।
भृकुटीमण्डप परिसरमा मतदानलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ । पार्टी नेतृत्व चयनका लागि भइरहेको यस निर्वाचनलाई एमालेको भावी राजनीतिक दिशा र संगठनात्मक संरचनाका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।






