लेटाङकी १२ वर्षीया अंशु गौतम हत्या प्रकरण : ५९ वर्षीय छिमेकी पदम ६० दिनपछि पक्राउ


विराटनगर । मोरङको लेटाङ नगरपालिका-२ फडानीकी १२ वर्षीया अंशु गौतमको बीभत्स हत्या प्रकरण दुई महिनापछि प्रहरीले टुङ्गोमा पुर्‍याएको छ । छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई प्रहरीले मङ्सिर १९ गते पक्राउ गरी आइतबार घटनाको विस्तृत विवरण सार्वजनिक गरेको हो ।

असोज २१ गतेदेखि हराएकी अंशुको शव कात्तिक ७ गते बेलबारी-चिसाङ साझेदारी वनमा कुहिएको अवस्थामा फेला परेको थियो । घटनामा संलग्न खुल्न नसक्दा प्रहरीमाथि तीव्र आलोचना हुँदै आएकोमा लामो अनुसन्धानपछि आरोपी पक्राउ परेपछि प्रहरीको दक्षता पुनः प्रमाणित भएको छ ।

जंगल लगेर बलात्कारपछि हत्या

दशैं सकेको केही दिनपछि १२ वर्षीया अंशु साथी युरिका महतरासँग चौरमा खेलिरहेकी थिइन् । त्यही बेला छिमेकी पदमबहादुरले पाँच रुपैयाँ दिएर युरिकालाई घर पठाइदिए र अंशुलाई घाँस काट्न सघाउन आग्रह गरे ।

जंगलको मुखमा भेट्ने सहमति भयो । प्रहरीका अनुसार अंशु पैदल पुगेकी थिइन्, पदम बाइकमा । त्यसपछि उनले अंशुलाई साइकलको पछाडि राखेर साढे ४ किलोमिटर भित्र जंगलमा लगे । सुनसान ठाउँमा उनले जबरजस्ती करणी गरे र प्रतिकार गरेपछि हातले घाँटी थिचेर हत्या गरे । मृत्यु भइसकेपछि हँसियाले घाँटी समेत रेटेर शरीर क्षतविक्षत पारेका थिए ।

हत्या गरेपछि उनी सामान्यजस्तै घाँस बोक्दै घर फर्किए । बालिका घर नफर्केपछि सुरु भएको खोजीमा पदम स्वयं सक्रिय बनेर सामेल भएका थिए, जसले प्रारम्भिक समयमा प्रहरीलाई भ्रममा पारेको थियो ।

३०० जनासँग सोधपुछ : ५० जनाको लिखित बयान

मोरङ प्रहरीका प्रमुख एसपी कवित कटवालका अनुसार घटनापछि ३०० भन्दा बढी स्थानीयसँग सोधपुछ गरिएको थियो । ५० भन्दा बढीको लिखित बयान लिइयो, १६ जनाको पोलिग्राफ परीक्षण गरियो ।

तर पदम वृद्ध, छिमेकी र सामान्य जस्तो व्यवहार देखिएका कारण सुरुमा शंकाको घेरामा परेनन् । उनले अंशु बेपत्ता भएको दिन घर फर्केपछि खोजीमा समेत सक्रिय भूमिका निर्वाह गरेकाले उनीमाथि ध्यान गएको थिएन ।

छोरा जेलबाट निस्किएपछि भारत भागे

जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका पदमका छोरा कार्तिक १८ मा जेलमुक्त भए । भोलिपल्ट पदमले घरजग्गाको जिम्मा छोरालाई लगाएर भारतको मेघालय गए ।

मानसिक तनावका कारण मेघालयमा गाई फार्ममा काम गरिरहेका पदमले दूधलाई रगतजस्तो देख्न थालेको बताएका छन् । उनले परिवारलाई हत्या गरेको कुरा भने खुलाएका थिएनन् ।

प्रहरीले प्रत्यक्ष सम्पर्क गर्दा नआएपछि आफन्तमार्फत बोलाए । ‘अंशुको हत्यारा खोज्न प्रहरीलाई तपाईँको सहयोग चाहियो’ भनेर आफन्तले सम्झाएपछि मात्र उनी नेपाल फर्किए र मङ्सिर १९ मा पक्राउ परे ।

एसपी कटवालका अनुसार प्रारम्भिक अनुसन्धानले पदमको अपराध यौन इच्छा, पारिवारिक विवाद र बदलाको मिश्रणबाट प्रेरित रहेको देखाएको छ ।
गौतम परिवारसँग उनको सम्बन्ध राम्रो थिएन । अंशु भने कहिलेकाहीँ पदमको घर जाने गरेकी थिइन् र उनीबाट मोबाइल चलाउने अनुमति पनि पाउने गर्थिन् ।

७ दिनको म्याद थप : ज्यान र करणी मुद्दामा अनुसन्धान

प्रहरीले पदमबहादुर अधिकारी विरुद्ध मुलुकी अपराध संहिता २०७४, ज्यान सम्बन्धी कसुर (दफा १७७), जबरजस्ती करणी (दफा २१९) अन्तर्गत मुद्दा दर्ता गरी ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको छ। बालबालिकामाथिको अपराधसम्बन्धी थप दफा पनि आकर्षित हुने एसपी कटवालले बताए ।

अंशुको शव कुहिएको अवस्थामा फेला परेपछि बुवा नवीन गौतमले लुगा, चप्पल र घडीका आधारमा सनाखत गरेका थिए । तर हत्यारा पक्रिनुअघि शव नबुझ्ने अडानका कारण अंशुको शव ४५ दिनदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नै राखिएको छ ।

स्थानीय स्तरमा ठुलो त्रास र आक्रोश उत्पन्न गरेको अंशु गौतम हत्या प्रकरण लामो अनुसन्धानपछि समाधानतिर उन्मुख भएको छ । प्रहरीले पूर्ण विवरण सार्वजनिक गरेसँगै अपराधी कानुनी प्रक्रियामा अघि बढेको छ र पीडित परिवारलाई न्याय दिलाउने प्रक्रिया अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्