सुन्दरहरैंचा । सुन्दरहरैंचामा अन्तर्राष्ट्रिय आमन्त्रण ‘ऐनी प्रथम गछिया गोल्डकप’ हुने भएको छ । मंसिर १५ गतेदेखि सुन्दरहरैंचा नगरपालिका-६ स्थित गछिया खेल मैदानमा सुरु हुने गोल्डकपबारे गछिया युवा समाजले बिहीबार पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिएको हो ।
खेल संयोजक प्रलाद थोप्रा लिम्बुका अनुसार प्रतियोगितामा भारत दार्जिलिङको ‘लिजेण्ड फुटबल टिम’ सहित सहलेश फुटबल क्लब सिराहा, दमक फुटबल एकेडेमी झापा, बेलबारी फुटबल क्लब, जलथल फुटबल क्लब झापा, गाईघाट युनाइटेड उदयपुर, राष्ट्रिय जागृति फुटबल क्लब सुनसरी तथा आयोजक गछिया युवा समाज गरी ८ टिमको सहभागिता रहनेछ । उद्घाटन खेल सहलेश र बेलबारीबीच हुनेछ ।
प्रतियोगिताको खेल तालिका अनुसार मंसिर १६ गते आयोजक गछिया र लिजेण्ड प्रतिस्पर्धा गर्नेछन् । १७ गते जलथल र गाईघाट युनाइटेड, १८ गते राष्ट्रिय जागृति र दमक फुटबल एकेडेमी आमनेसामने हुनेछन् । १९ र २० गते क्रमशः पहिलो र दोस्रो सेमिफाइनल तथा मंसिर २२ गते फाइनल खेलसहित समापन समारोह हुनेछ ।

खेल संयोजक लिम्बुका अनुसार गोल्डकपको माध्यमबाट खेलकुदसँगै सामाजिक उत्तरदायित्वमा पनि ध्यान दिइनेछ । १२ वटै वडाबाट एक-एक जना ज्येष्ठ नागरिकलाई सम्मान, एक पुरुष र एक महिलालाई व्हिलचेयर वितरण तथा यस क्षेत्रबाट राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा खेलेका खेलाडीहरूलाई विशेष सम्मान गरिने उनले जानकारी गराए ।
गछिया युवा समाजका अध्यक्ष सरोज दाहालका अनुसार विजेता टिमले रु. २ लाख १ हजार र उपविजेताले रु. १ लाख १ हजार पुरस्कार प्राप्त गर्नेछन् । ‘मेन अफ द सिरिज’ ले रु. २५ हजार तथा ‘वेस्ट डिफेन्स, वेस्ट फरवार्ड, वेस्ट मिडफिल्डर, वेस्ट गोलकिपर, वेस्ट कोच’ र ‘वेस्ट राइजिङ प्लेयर’ ले जनही रु. ११ हजार पाउनेछन् । हरेक खेलको ‘म्यान अफ द म्याच’ ले रु. ५ हजार १ सय प्राप्त गर्नेछ ।
दाहालका अनुसार “लागुऔषधले लिन्छ ज्यान, गछिया युवा समाजको आह्वान, स्वस्थ रहन खेलकुदमा ध्यान” भन्ने मूल नाराका साथ गोल्डकप आयोजना गरिएको हो । उनले गोल्डकप सफल बनाउन स्थानीयवासीलाई सहयोगको अपिल गर्दै तथा सहयोगदाताहरूलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा बोल्दै सुन्दरहरैंचा नगर खेलकुद समितिका सदस्य-सचिव खड्कबहादुर श्रेष्ठले लामो समयपछि गोल्डकप हुन लाग्नु नगरको लागि खेल क्षेत्रको विकास र पहिचानको लागि महत्त्वपूर्ण कार्यक्रम भएको बताए । खेलकुदमार्फत नगरको पहिचान र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उल्लेख गर्दै उनले गोल्डकपलाई वार्षिक रूपमा निरन्तरता दिन आग्रह गरेका छन् । श्रेष्ठले जेनजी आन्दोलनको क्रममा नगरपालिकाको कार्यालयमा आगजनी हुँदा क्षति पुगे पनि त्यही स्थानबाट कुर्सी-टेबलको सहारामै सेवा सञ्चालन भइरहेको र जनताको हकहितका काम निरन्तर भइरहने बताएका छन् ।
रु. १ लाख सहयोग हस्तान्तरण
गोल्डकपलाई सफल बनाउन मुख्य सहयोगीका रूपमा सिद्धार्थ युवा समाजले पत्रकार सम्मेलनमै रु. १ लाख आर्थिक सहयोग गछिया युवा समाजलाई हस्तान्तरण गरेको छ । अध्यक्ष असीम राई र सचिव सुवास भण्डारीसहित पदाधिकारीहरूले सहयोग राशि बुझाउँदै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे ।



