आठौँ बेलबारी अन्तर्राष्ट्रिय रनिङ गोल्डकप सुरु : आयोजक एल एक्स सिटी क्लबको विजयी सुरुवात


मोरङ । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा आइतबारदेखि सुरु भएको आठौँ बेलबारी आरजु राइस मेजर स्व. एन.बी. रुङमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप फुटबल प्रतियोगितामा आयोजक एल एक्स सिटी फुटबल क्लब, बेलबारीले विजयी सुरुवात गरेको छ ।

उद्घाटन खेलमा आयोजक टिमले भारतको लिजेण्ड्स फुटबल एकेडेमीलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको शानदार सुरुवात गरेको हो । खेलको १७ औँ मिनेटमा जर्सी नम्बर ११ का सनम धिमालले मौसम सुब्बाको पासमा गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि २२ औँ मिनेटमा धिमालकै पास सदुपयोग गर्दै जर्सी नम्बर ६ का विवेक पौडेलले डिएरियाबाहिरबाट शक्तिशाली प्रहारमार्फत दोस्रो गोल गर्दै टिमलाई २–० को जित दिलाए ।

दुवै टोलीले खेल अवधिभर आक्रमणात्मक प्रदर्शन गरे पनि आयोजक क्लबले खेलमा नियन्त्रण कायम राखेको थियो । खेलमा एल एक्स सिटी क्लबका सञ्जय श्रेष्ठ र भारतका फोफानाले पहेँलो कार्ड प्राप्त गरे । म्यान अफ द म्याच आयोजक क्लबका विवेक पौडेल घोषित भए ।

प्रतियोगिताको उद्घाटन बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले गर्नुभएको थियो । उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, खेलकुदप्रेमी र समर्थकहरूको उल्लेख्य उपस्थिति थियो । आयोजक एल एक्स सिटी फुटबल क्लबका अध्यक्ष विक्रम राईका अनुसार नेपाल र भारतका गरी जम्मा आठ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीहरूमा आयोजक एल एक्स सिटी क्लब बेलबारी, साबिक विजेता झापा–११ फुटबल क्लब, उपविजेता सलहेश युवा क्लब सिरहा, चर्च ब्वाइज युनाइटेड ललितपुर, बी–डिभिजन च्याम्पियन प्लानिङ ब्वाइज युनाइटेड, रारा फुटबल क्लब राजारानी धनकुटा, भोजपुर जिल्ला फुटबल सङ्घ र भारतको लिजेण्ड्स फुटबल एकेडेमी रहेका छन् ।

सोमबार हुने दोस्रो खेलमा भोजपुर फुटबल क्लब र झापा–११ फुटबल क्लब बिर्तामोडबिच प्रतिस्पर्धा हुनेछ । मुख्य सहयोगीका रूपमा बेलबारी नगरपालिका र मुख्य प्रायोजकका रूपमा आरजु राइस मिल रहेको प्रतियोगिताको विजेता टोलीले नगद ८ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ४ लाख रुपैयाँ पाउनेछ । साथै सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलकिपर, प्रशिक्षक, सर्वाधिक गोलकर्तालाई ११ हजार र उदीयमान खेलाडीलाई पनि ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले ७ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

३ केजी चाँदी र डेढ तोला सुनजडित करिब ८ लाख मूल्यको रनिङ ट्रफी लगातार तीन वर्ष जित्न सफल टोलीले स्थायी रूपमा राख्न पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्