केशु विरही, सुन्दरहरैंचा । विकृत राजनीतिको कारणले युवाहरूमा पछिल्लो समयमा समाजसेवाप्रतिको विकर्षण भइरहेको बेलामा केही युवाहरूद्वारा भने समाजसेवाकै माध्यमबाट आफूलाई चिनाउने काम समेत भइरहेको छ ।
त्यस्तै सुन्दरहरैंचा नगरपालिका ११, कर्जुनाका युवाहरूले समाजसेवाका माध्यमबाट स्थानीयहरूलाई सहयोग मात्र गरिरहेका छैनन् त्यही कामबाट आफूलाई समाजमा चिनाउने काम समेत गरिरहेका छन् ।
सुन्दरहरैंचा ११, कर्जुनाका विनोद भट्टराई, यादव पौडेल, अनिल पौडेल, सागर लुईटेल लगायतका स्थानीय युवाहरूको लकडाउनले दैनिकी नै बदलिएको छ । विभिन्न पेसा व्यवसायमा सक्रिय यी युवाहरूले लकडाउनको समयलाई समाजसेवामा खर्चिरहेका छन् । उनीहरू बिहान सबेरै उठ्छन् र समूह बनाएर किसानका बारीमा पुग्छन् ।
हरियो तरकारी खरिद गर्छन् र प्याकेजिङ गर्छन् । यसरी प्याकेजिङ गरिरहँदा केही युवाहरू भने तरकारी लिएर घरघरमा पुगिसकेका हुन्छन् । सशुल्क रूपमा भए पनि आफूहरूले सुन्दरहरैंचा भरिका नागरिकलाई ताजा तथा हरियो तरकारी पुर्याएको सुन्दरहरैंचा ११ कर्जुनाका विनोद भट्टराई बताउँछन् । सुन्दरहरैंचा ११ कर्जुनाकै अर्का युवा यादव पौडेल लकडाउनले आफूहरूलाई समाजसेवातर्फ लाग्न प्रेरित गरेको बताउँछन् ।
यसरी आफूहरूलाई समाजसेवामा लाग्न नगरपालिकाको पनि उत्तिकै हात रहेको उनीहरू बताउँछन् । नगरबासीका घरघरमा हरियो ताजा तरकारी पुर्याउनका लागि भनेर नगरपालिकाले सवारीसाधन र त्यसवापद लाग्ने इन्धनको समेत व्यवस्था गरिदिएको छ । स्थानीय कमल बहादुर लिम्बू यसरी घरघरमा ताजा तथा हरियो तरकारी पाउँदा मक्ख छन् । विपत्तिले युवाहरूलाई समाजसेवाको पाठ पढाएको उनको मत रहेको छ । युवाहरूले घरघरमा पुर्याएको तरकारी ताजा तथा बजारभन्दा सस्तो पनि भएको र गृहिणीलाई झनै सहयोग पुगेको कर्जुनाकी माया खड्काको मत रहेको छ ।
विकृत राजनीतिका कारणले युवाहरूको समाजसेवाप्रति विकर्षण भइरहेको परिप्रेक्ष्य कर्जुनाका स्थानीय युवाहरूको समाजसेवाप्रतिको आकर्षणलाई महत्त्वपूर्ण रूपमा लिनु पर्छ ।