बेलबारीका वृद्ध राई दम्पतीलाई उपचारको अभाव : नगरपालिकासँग सहयोगको अपेक्षा (भिडियो)


बेलबारी, १२ पुस  /  उपचारको अभावमा लामो समयदेखि दम तथा अन्य रोगबाट थलिएका बेलबारीका वृद्ध राई दम्पतीले स्थानीयको पहलमा उपचार पाउने भएका छन् ।

बेलबारी नगरपालिका वार्ड नं २, लालभित्ती, ज्योति टोल निवासी ७४ वर्षीय वीरबहादुर राई र उनकी ६८ वर्षीय, श्रीमती रोगबाट विगत लामो समयदेखि थलिएका थिए ।
७४ वर्षीय राई दमका कारण रातभरि सुत्न समेत सक्दैनन् । सुत्न नसकेर उनी घर बाहिर आगो तापेरै रात बिताउँछन् ।

दमको पीडा त छदै थियो तर केही महिनादेखि उनको घाँटी र टाउकाको बिचमा एउटा ठुलो फोको पलाएको छ । झन् त्यो फोकेको पिडाले उनलाई साह्रै सताइ रहेको छ । उनी खप्न नसकेर दैनिक पेन किलर खाएर बसिरहेका छन् ।

उता ६८ वर्षीय श्रीमतीको हालत पनि उस्तै छ । उनी पनि धेरै सालदेखि पेट दुख्ने रोगबाट पीडित छिन । पैसाको अभावमा राम्ररी उपचार हुन नसक्दा उनले पीडा सधैँ पालेर बसिरहनु परेको छ ।

भोजपुरमा जन्मभै विगत ११ वर्षदेखि बेलबारी २ लालभित्तीमा स्थायी रूपमा बस्दै आएका राई दम्पतीको आफ्नो जग्गा जमिन भने छैन । ऐलानी जग्गामा जस्ताको छाना हालेर बसेका राई दम्पतीलाई गाउँलेहरूले स्थानीय बागदेवी सामुदायिक वनबाट दाउराको जोहो गरिदिएका छन् । त्यही दाउरा बालेर उनीहरू रात बिताउँदै आएका छन् ।

राई दम्पतीका जेठो छोरा बुहारी दुवै जना अपाङ्ग छन् भने कमाईको सिलसिलामा कान्छो छोरा भारत गएका छन् । लेखपढ नभएको र श्रीमानको कमाई राम्रो नभएकोले आमा बुबाको उपचार गर्न नसकिएको वृद्ध वीरबहादुरकी बुहारी सीता राई वताउछिन ।

स्थानीयहरूले उपचारमा सहयोग गर्न नगरपालिकामा निवेदन समेत दिईसकेका छन् । उनीहरूले नगरपालिकाबाट उचित सहयोगको आसा समेत गरेका छन् ।
राई दम्पतीको अवस्था एकदमै दयनीय रहेकोले उनीहरूको उपचारमा आफूहरू लागिरहेको स्थानीय प्रकाश चौहान बताउँछन् ।

चरम गरिबिका कारणले अहिले सम्म जँचाउन समेत नसकेका राई दम्पतीलाई स्थानीय जनप्रतिनिधि समेत रहेकी खिना थापाले आज जाडोमा न्यानो कपडा तथा खाद्यान्न वितरण गरेकी छन् । न्यानो कपडा तथा खाद्यान्न वितरण गर्दै वृद्ध दम्पतीको उपचारमा नगरपालिका लागि पर्ने बताइन ।

बेलबारी नगरपालिकाका नगरकार्यपालिका सदस्य समेत रहेकी थापा सुरुमा उनीहरूको प्राथमिक उपचारमा लाग्ने, त्यसपछि नगरपालिकामा उनीहरूको उपचारको लागि प्रस्ताव लैजाने बताइन ।

 

प्रतिक्रिया दिनुहोस्