मोरक्कोलाई हराउँदै फ्रान्स लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा


काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले मोरक्कोलाई २-० गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा शुक्रवार बिहान सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा फ्रान्सले दोस्रो हाफमा दुई गोल गर्दै प्रभावशाली जित निकालेको हो ।

खेलको पहिलो हाफमा फ्रान्सले अग्रता लिने सुनौलो अवसर पाए पनि कप्तान एमबाप्पेले प्रहार गरेको पेनाल्टी मोरक्कोका गोलकिपर यासिन बोनोले उत्कृष्ट बचाउ गर्दै खेललाई गोलरहित बराबरीमा रोकेका थिए । बोनोको उत्कृष्ट प्रदर्शनका कारण पहिलो ४५ मिनेट मोरक्को खेलमा टिक्न सफल भएको थियो ।

दोस्रो हाफमा भने फ्रान्सले आफ्नो स्तरअनुसारको खेल प्रस्तुत गर्‍यो। खेलको ६०औँ मिनेटमा एमबाप्पेले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको केवल छ मिनेटपछि उनले उपलब्ध गराएको पासलाई उसमान डेम्बेलेले सदुपयोग गर्दै दोस्रो गोल गरेपछि फ्रान्सको जित लगभग सुनिश्चित भएको थियो। त्यसपछि मोरक्कोले खेलमा फर्कने प्रयास गरे पनि फ्रान्सको सुदृढ रक्षापङ्क्ति र अनुशासित खेलका कारण थप गोल गर्न सकेन ।

यस जितसँगै सन् २०१८ को विश्वविजेता तथा २०२२ को उपविजेता फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । अब फ्रान्सले फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीच हुने क्वाटरफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यता पराजित मोरक्कोका लागि गोलकिपर यासिन बोनो व्यक्तिगत रूपमा उत्कृष्ट देखिए । उनले पहिलो हाफमा एमबाप्पेको पेनाल्टीसहित फ्रान्सका केही खतरनाक प्रहार बचाउँदै टोलीलाई लामो समयसम्म खेलमा कायम राखे। तर दोस्रो हाफमा फ्रान्सको लगातार दबाबलाई रोक्न भने उनी असफल भए ।

यस हारसँगै मोरक्कोको अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३४ खेलसम्म कायम रहेको अपराजित यात्रासमेत समाप्त भएको छ । अर्कोतर्फ, फ्रान्सले पुनः उपाधि दाबेदारका रूपमा आफ्नो बलियो उपस्थितिलाई प्रमाणित गर्दै विश्वकपको अर्को चरणमा आत्मविश्वासका साथ यात्रा अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्