काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट बहुमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको तयारीलाई तीव्र बनाएको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आगामी चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने तयारी गरिएको छ ।
बिहीबार साँझ बसेको रास्वपाको शीर्ष तहको बैठकले प्रधानमन्त्रीको शपथका लागि उक्त मिति तय गरेको हो । बैठकमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले सहभागी थिए । बैठकमा सरकार गठन, मन्त्रिपरिषद् संरचना तथा आगामी राजनीतिक कार्ययोजनाबारे समेत छलफल भएको जनाइएको छ ।
यसअघि संघीय संसद् सचिवालयले नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे गर्ने निर्णय गरिसकेको छ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विभिन्न दलसँगको परामर्शपछि उक्त मिति तय गरिएको हो । सोहीअनुसार सांसदहरूले शपथ लिएपछि भोलिपल्ट प्रधानमन्त्रीको शपथ गराउने तयारी गरिएको रास्वपा स्रोतले जनाएको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले १८२ सिट जित्दै स्पष्ट बहुमत प्राप्त गरेको थियो। निर्वाचनअघि नै पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो । बहुमतसहितको जनादेश पाएपछि अब पार्टी सरकार गठन र नेतृत्व चयन प्रक्रियामा केन्द्रित भएको हो ।
प्रतिनिधिसभा सदस्यहरूको शपथको मिति तय भएसँगै रास्वपाका शीर्ष नेताहरूबिच सरकार गठनबारे आन्तरिक छलफल तीव्र बनेको छ ।


