प्रधानमन्त्री कार्कीको नियुक्तिमाथि महावीर पुनको आपत्ति : निर्णय सच्याउन सुझाव


काठमाडौँ । पूर्वमन्त्री तथा नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले प्रधानमन्त्री सुशीला कार्कीले हालै गरेको नियुक्तिमाथि आपत्ति जनाउँदै उक्त निर्णय सच्याउन सुझाव दिएका छन् । प्रधानमन्त्री कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गरेपछि यस विषयमा सार्वजनिक रूपमा आलोचना भइरहेका बेला पुनले पनि त्यसप्रति कडा प्रतिक्रिया दिएका हुन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गराएर सरकारबाट बाहिरिने तयारी गरिरहेकै अवस्थामा आइतबार बसेको मन्त्रिपरिषद् बैठकबाट श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गरेकी थिइन् । यसअघि पनि विभिन्न कारणले विवादमा तानिएका श्रेष्ठलाई आकर्षक पदमा नियुक्त गरिएको विषयलाई लिएर सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म आलोचना भइरहेको छ ।

सोही विषयमा टिप्पणी गर्दै पुनले उक्त नियुक्ति पूर्ण रूपमा गलत भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीले आफ्नै स्वकीय सचिवलाई राष्ट्रिय प्रकृति संरक्षण कोषजस्तो महत्त्वपूर्ण संस्थाको कार्यकारी प्रमुख बनाउनु उचित नभएको बताएका हुन् । पुनले लेखेका छन्, “प्रधानमन्त्रीज्यूले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखको पदमा आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई गरेको नियुक्ति १०० प्रतिशत गलत हो ।”

पुनले नियुक्त भएका आदर्श श्रेष्ठलाई पनि सम्बोधन गर्दै यस्तो पद स्वीकार नगर्न सुझाव दिएका छन् । उनले प्रधानमन्त्री कार्कीको प्रतिष्ठा जोगाउन तथा अनावश्यक विवादबाट जोगिन उक्त पद नलिनु नै उचित हुने धारणा व्यक्त गरेका छन् । उनले राजनीतिक दलहरू कमजोर हुनुका पछाडि नातावाद र कृपावादजस्ता प्रवृत्तिहरू जिम्मेवार रहेको पनि उल्लेख गरेका छन् । यस्ता अभ्यासहरू दोहोरिइरहेमा नयाँ राजनीतिक शक्ति र नयाँ दलहरू पनि भविष्यमा कमजोर बन्न सक्ने चेतावनी उनले दिएका छन् ।

पुनले राज्यका महत्त्वपूर्ण संस्थाहरूमा नियुक्ति गर्दा पारदर्शिता, योग्यता र नैतिकताको मापदण्डलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्