चुनावी हारपछि गगन थापाको राजीनामा संकेत


काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको परिणामपछि नेपाली काँग्रेसभित्र नेतृत्वको जिम्मेवारी र आत्मसमीक्षाबारे बहस सुरु भएको छ । पार्टीका सभापति गगन थापाले चुनावी परिणामको नैतिक जिम्मेवारी आफूले लिने संकेत दिँदै पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

सोमबार साँझ नयाँ बानेश्वरमा उपसभापति विश्वप्रकाश शर्मासँग भएको विशेष छलफलका क्रममा सभापति थापाले निर्वाचन परिणामप्रति आफू गम्भीर रहेको बताउँदै नेतृत्वको हैसियतले मार्गप्रशस्त गर्नु उपयुक्त हुने धारणा व्यक्त गरेका हुन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षित सफलता हासिल गर्न नसकेपछि जिम्मेवारी लिनु लोकतान्त्रिक संस्कारको हिस्सा हुने थापाको तर्क रहेको स्रोतले जनाएको छ ।

छलफलका क्रममा थापाले पार्टीले चुनावी धक्का बेहोरेको अवस्थामा नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्ने धारणा राख्दै आफू सभापति पदबाट राजीनामा दिन तयार रहेको बताएका थिए । उनका अनुसार लोकतान्त्रिक अभ्यासमा नेतृत्वले सफलताको श्रेय मात्र होइन, असफलताको जिम्मेवारी पनि लिन सक्नुपर्छ ।

तर उपसभापति विश्वप्रकाश शर्माले भने तत्काल राजीनामा दिनु उचित नहुने सुझाव दिएका छन् । उनले विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको करिब ५० दिनमै पार्टी निर्वाचनमा होमिनुपरेको अवस्थालाई स्मरण गराउँदै वर्तमान नेतृत्वलाई मात्र पराजयको दोष दिन नमिल्ने बताएका छन् ।

शर्माले चुनावी पराजयको कारणबारे गहिरो समीक्षा गर्दै पार्टीभित्रको आन्तरिक व्यवस्थापन, संगठन सुदृढीकरण र आगामी रणनीतिबारे स्पष्ट कार्यदिशा तय गर्न आवश्यक रहेकोमा जोड दिएका छन् । उनका अनुसार अहिलेको प्राथमिकता नेतृत्व परिवर्तनभन्दा पनि परिस्थितिलाई सम्हाल्दै संगठनलाई पुनः सशक्त बनाउनेतर्फ केन्द्रित हुनुपर्छ ।

दुवै नेताबिच भएको संवादमा पार्टीको चुनावी परिणाम, संगठनात्मक कमजोरी र आगामी राजनीतिक रणनीतिबारे गम्भीर छलफल भएको बुझिएको छ । काँग्रेसभित्र पछिल्लो चुनावी परिणामपछि सुरु भएको आत्मसमीक्षाको प्रक्रिया आगामी दिनमा अझ व्यापक हुने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्