काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामपछि रुपन्देहीमा नेपाली काँग्रेसले पराजय भोगेपछि पार्टीभित्र राजनीतिक तरंग देखिएको छ । नेपाली काँग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरेले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा पार्टीले हार व्यहोर्नुपरेको भन्दै नैतिक जिम्मेवारी लिँदै आफ्नो पदबाट राजीनामा दिएका छन् ।
घिमिरेले रुपन्देहीका पाँचमध्ये चार निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भइसकेको तथा बाँकी निर्वाचन क्षेत्र नं. १ मा पनि रास्वपाका उम्मेदवार विजयोन्मुख रहेको अवस्थामा पार्टीको पराजयप्रति आफूले जिम्मेवारी लिने निर्णय गरेको बताएका छन् । उनले सभापतिलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा पार्टीको सिद्धान्त, नीति र कार्यक्रमप्रति आफ्नो प्रतिबद्धता कायम रहने उल्लेख गरेका छन्। साथै, औपचारिक पदबाट अलग भए पनि काँग्रेसको सक्रिय सदस्यका रूपमा संगठन सुदृढीकरणका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यद्यपि, रुपन्देही जिल्ला सभापति रामकृष्ण खाणले भने आफूले हालसम्म घिमिरेको राजीनामा आधिकारिक रूपमा प्राप्त नगरेको बताएका छन् । उनले राजीनामाबारे विभिन्न माध्यमबाट चर्चा सुनेको भए पनि लिखित रूपमा पत्र नआएको स्पष्ट पारे ।खाणका अनुसार जिल्लाका सबै निर्वाचन क्षेत्रको परिणामबारे पार्टीभित्र औपचारिक समीक्षा बैठक बस्ने तयारी भइरहेको छ । सो बैठकमा चुनावी पराजयका कारणहरू, संगठनात्मक कमजोरी तथा आगामी रणनीतिबारे विस्तृत छलफल गरिने उनले बताए ।


