गोरखा-१ बाट प्रतिनिधिसभा निर्वाचनमा सुदन गुरुङको उम्मेदवारी घोषणा


काठमाडौँ । ‘हामी नेपाल’ का संस्थापक तथा ‘द काउन्सिल अफ जेनजी’ का संयोजक सुदन गुरुङले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने निर्णय सार्वजनिक गरेका छन् । उनले शुक्रवार सामाजिक सञ्जालमार्फत फागुन २१ गते तय भएको निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने औपचारिक घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै गुरुङले आफ्नो राजनीतिक यात्राको सुरुवात जन्मभूमिबाट गर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, “गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु । आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल।” उनको भनाइले युवामुखी राजनीति र वैकल्पिक राजनीतिक धारलाई अघि बढाउने संकेत गरेको छ ।

हालसम्म गुरुङले कुन राजनीतिक दलबाट चुनाव लड्ने भन्ने विषयमा भने खुलासा गरेका छैनन् । यद्यपि पछिल्लो समय उनी काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच सहकार्य र एकताको प्रयासमा सक्रिय देखिएका थिए, जसले उनको राजनीतिक भूमिकाबारे थप चासो बढाएको छ ।

गुरुङको स्थायी ठेगाना गोरखा जिल्लामा पर्दछ। उनी उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका बासिन्दा हुन् । स्थानीय तहदेखि राष्ट्रिय राजनीतिसम्म नयाँ सोच र पुस्ताको प्रतिनिधित्व गर्ने आकाङ्क्षासहित उनी चुनावी मैदानमा उत्रिन लागेको बताइन्छ ।

गत प्रतिनिधिसभा निर्वाचनमा गोरखा-१ मा नेपाली काँग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्र बिच गठबन्धन बनेको थियो । सो गठबन्धनबाट काँग्रेसका उम्मेदवार राजेन्द्र बजगाईँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यस पटक गुरुङको उम्मेदवारी घोषणाले गोरखा-१ को राजनीतिक समीकरणलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्