काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाविरुद्ध ठुलो सैन्य आक्रमण गरिएको दाबी गर्दै भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरी देशबाट बाहिर निकालिएको बताएका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’मा पोस्ट गर्दै ट्रम्पले अमेरिकाले भेनेजुएला र त्यहाँको नेतृत्वविरुद्ध सफलतापूर्वक सैन्य कारबाही गरेको उल्लेख गरेका हुन्।
ट्रम्पको दाबीअनुसार अमेरिकाले मादुरो नेतृत्वको सरकारविरुद्ध ठुलो मात्रामा हमला गरी राष्ट्रपति र उनकी पत्नीलाई नियन्त्रणमा लिएको हो। उक्त कारबाही अमेरिकी कानुन प्रवर्तन निकायसँगको सहकार्यमा गरिएको जनाउँदै विस्तृत विवरण चाँडै सार्वजनिक गरिने उनले बताएका छन्। केही अमेरिकी सञ्चारमाध्यमले उच्च अधिकारीलाई उद्धृत गर्दै मादुरो दम्पतीलाई अमेरिकी सेनाको विशेष दस्ता डेल्टा फोर्सले नियन्त्रणमा लिएको उल्लेख गरेका छन्।
यसैबिच शनिवार बिहान भेनेजुएलाको राजधानी काराकाससहित मिरान्डा, अरागुआ र ला गुएरा राज्यका विभिन्न नागरिक तथा सैन्य क्षेत्रमा विस्फोटका आवाज सुनिएको र धुवाँ देखिएको प्रत्यक्षदर्शीहरूको भनाइ छ। विस्फोटपछि राजधानीसहित केही क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
घटनाक्रमपछि भेनेजुएलाको सरकारले अमेरिकाले देशमाथि प्रत्यक्ष सैन्य आक्रमण गरेको आरोप लगाउँदै कडा निन्दा गरेको छ। सरकारी विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै अमेरिकाले नागरिक तथा सैन्य संरचनामाथि आक्रमण गरेको दाबी गरिएको छ। भेनेजुएलाले आक्रमणको उद्देश्य देशका रणनीतिक स्रोतहरू, विशेष गरी तेल र खनिजमाथि नियन्त्रण जमाउनु तथा राजनीतिक स्वतन्त्रतालाई कमजोर पार्नु रहेको उल्लेख गरेको छ।
राष्ट्रपति निकोलस मादुरोले संविधान र राष्ट्रिय सुरक्षा कानुनअनुसार देशभर सङ्कटकाल घोषणा गर्दै बोलिभेरियन राष्ट्रिय सशस्त्र बललाई राष्ट्रव्यापी रूपमा तैनाथ गरिएको जानकारी दिएका छन्। सरकारले संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ५१ अन्तर्गत आत्मरक्षाको अधिकार सुरक्षित राखेको जनाउँदै अन्तर्राष्ट्रिय समुदायलाई भेनेजुएलाको सार्वभौमिकताको समर्थन गर्न आह्वान गरेको छ। कूटनीतिक च्यानलमार्फत संयुक्त राष्ट्र सुरक्षा परिषद् र महासचिवसमक्ष औपचारिक उजुरी दर्ता गरिने पनि जनाएको छ।
अमेरिका र भेनेजुएलाबीच पछिल्ला वर्षहरूमा तनाव निरन्तर बढ्दै आएको छ। अमेरिकी पक्षले मादुरो नेतृत्वलाई ‘नार्को–आतंकवादी’ सरकारको संज्ञा दिँदै लागुऔषध तस्करी र निर्वाचन धाँधलीको आरोप लगाउँदै आएको छ। अमेरिकाले भेनेजुएलाको तेल ओसारपसारमा संलग्न जहाजहरूमा प्रतिबन्ध लगाउनुका साथै क्यारिबियन क्षेत्रमा सैन्य उपस्थिति बढाएको थियो। भेनेजुएलाले भने अमेरिकाले विश्वकै ठुलो तेल भण्डारमाथि नियन्त्रण जमाउन दबाब सिर्जना गरिरहेको आरोप लगाउँदै आएको छ।
घटनाक्रमप्रति क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रतिक्रिया पनि आउन थालेका छन्। कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले भेनेजुएलाविरुद्ध अमेरिकी कारबाहीबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद् बोलाउन आह्वान गरेका छन्। उता ह्वाइट हाउसले भने पछिल्लो घटनाबारे औपचारिक टिप्पणी सार्वजनिक गरेको छैन, यद्यपि केही अमेरिकी दूतावासहरूले आफ्ना नागरिकलाई भेनेजुएला नजान सचेत गराएका छन्।
यसबिच भेनेजुएलाका राष्ट्रपति मादुरोले एक अन्तर्वार्तामार्फत अमेरिका इच्छुक स्थान र समयमा वार्ताका लागि तयार रहेको बताएका छन्। उनले लागुऔषध तस्करी र तेलसम्बन्धी विषयमा संवाद गर्न खुला रहेको जनाए पनि हालैका आक्रमणबारे विस्तृत प्रतिक्रिया दिएका छैनन्।


