काठमाडौँ । लामो समयदेखि चासो र अड्कलबाजीको विषय बनेको वैकल्पिक राजनीतिक सहकार्य अन्ततः सहमतिमा पुगेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल अभियानसँग जोडिएका अभियन्ता तथा नेतृत्व एकै धारमा उभिएका छन् । देशमा व्याप्त निराशा, आक्रोश र परिवर्तनको चाहनाबिच भएको यो सहमतिलाई नयाँ राजनीतिक अध्यायको सुरुवातका रूपमा हेरिएको छ ।
सोमबार बालेन्द्र शाहको साक्षीमा रास्वपाका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले सहमति पत्रमा हस्ताक्षर गरेसँगै एकता औपचारिक बनेको हो। सहमतिअनुसार उज्यालो नेपाल पार्टीले रास्वपाको केन्द्रीय कमिटीमा वरिष्ठ उपसभापति अर्थात् दोस्रो वरियता प्राप्त गर्नेछ । समानुपातिकतर्फ २० प्रतिशत र प्रत्यक्षतर्फ ३० प्रतिशत हिस्सा दिने सहमति पनि भएको छ। महामन्त्रीसहित केन्द्रीय तहका जिम्मेवारीमा समेत आपसी समझदारी कायम गरिएको बताइएको छ ।
सहमति अनुसार पार्टीको नाम, झण्डा र चुनाव चिन्ह यथावत् राष्ट्रिय स्वतन्त्र पार्टीकै रहनेछ । निलो पृष्ठभूमिमा सेतो घेराभित्र निलो घण्टी अंकित झण्डा र ‘घण्टी’ चुनाव चिन्ह कायम रहनेछ भने केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहनेछ । सहमतिपछि पार्टीसम्बन्धी सम्पूर्ण दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ ।
नेतृत्व संरचनामा रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने रहनेछन् भने उपसभापतिमा कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले रहने सहमति भएको छ। उज्यालो नेपालको अभियानलाई रास्वपाका कार्यक्रमहरूसँग जोड्दै पार्टी संगठनलाई थप फराकिलो, सक्षम र जनमुखी बनाउने प्रतिबद्धता पनि सहमतिमा उल्लेख छ। युवा अभियन्ता र अनुभवी विज्ञलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिने भनिएको छ ।
सहमति पत्रले जेनजी आन्दोलनसहित भ्रष्टाचार र कुशासनविरुद्ध उठेका आवाजलाई आत्मसात् गर्ने प्रतिबद्धता जनाएको छ । घाइते र शहीद परिवारका पीडालाई बेवास्ता नगरिने र उनीहरूका मागको यथोचित सम्बोधन गरिने वाचा गरिएको छ । उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, मेरिटोक्रेसी, शून्य सहनशीलताको भ्रष्टाचार विरोधी नीति र सुशासनलाई मूल आधार मानी आगामी दस वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्यसहित अघि बढ्ने घोषणा गरिएको छ ।


