रवि-बालेन-कुलमान एकै दलमा, नयाँ राजनीतिक शक्ति घोषणा हुने तयारी


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जा मन्त्री कुलमान घिसिङ एउटै नयाँ राजनीतिक दल गठन गर्न सहमत भएका छन् । स्रोतका अनुसार तीन नेताबिच लामो समयदेखि चलिरहेको संवाद अब अन्तिम चरणमा पुगेको छ र नयाँ पार्टी गठनको औपचारिक घोषणा भोलि हुने अपेक्षा गरिएको छ ।

यसअघि चुनावी सहकार्य वा गठबन्धनको चर्चा भए पनि पछिल्लो सहमति पूर्ण रूपमा नयाँ पार्टी निर्माणतर्फ केन्द्रित भएको बताइएको छ । स्रोतले जनाएअनुसार पार्टी गठनको क्रममा पद, जिम्मेवारी वा अन्य विषयमा कुनै किसिमको बार्गेनिङ नगरिएको दाबी गरिएको छ, जसलाई नयाँ राजनीतिक संस्कृतिको संकेतका रूपमा हेरिएको छ ।

एकीकृत पार्टीको अध्यक्ष रवि लामिछाने रहने सहमति भएको छ भने पार्टीको चुनाव चिह्न हाल प्रयोगमा रहेको ‘घण्टी’ नै कायम रहनेछ । नयाँ दलले वर्तमान राजनीतिक शक्तिहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाको गठबन्धनलाई प्रत्यक्ष प्रतिस्पर्धा दिने वैकल्पिक शक्ति निर्माण गर्ने लक्ष्य लिएको बताइएको छ ।

निवर्तमान स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहका अनुसार यो एकताले मुलुकको राजनीतिक धारलाई नयाँ मोड दिनेछ । उनले नयाँ पार्टी एक भएर निर्वाचनमा अघि बढेमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाह अगाडि आउन सक्ने सम्भावना समेत औंल्याएका छन् । सिंहका शब्दमा, “वर्तमान परिस्थितिमा बालेन शाहको प्रधानमन्त्री बन्ने सम्भावनालाई पूर्ण रूपमा अस्वीकार गर्न सकिँदैन ।”

रवि लामिछानेको राजनीतिक संगठन क्षमता, बालेन्द्र शाहको शहरी लोकप्रियता र कुलमान घिसिङको प्रशासकीय छवि एकै ठाउँमा जोडिँदा नयाँ पार्टीले आम मतदातामाझ फरक सन्देश दिने अपेक्षा गरिएको छ । यस घटनाक्रमले नेपाली राजनीतिमा वैकल्पिक शक्तिको खोजी गरिरहेका नागरिकहरूमा उत्सुकता र बहस दुवै बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्