राष्ट्रपति र प्रधानमन्त्रीसँग देउवा-ओली-प्रचण्डको उच्चस्तरीय छलफल


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसँग शीर्ष तीन राजनीतिक दलका नेताहरूबिच उच्चस्तरीय छलफल भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मङ्गलवार दिउँसो आयोजित उक्त छलफलमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए ।

प्रधानमन्त्री सुशीला कार्की समेत उपस्थित रहेको छलफल झन्डै साढे दुई घण्टा चलेको बताइएको छ । दिउँसो साढे तीन बजे सुरु भएको बैठक केही बेरअघि सकिएको हो । छलफलमा समसामयिक राजनीतिक अवस्था, सरकार सञ्चालन, राष्ट्रिय सरोकारका विषय तथा आपसी सहकार्यका सम्भावनाबारे कुराकानी भएको अनुमान गरिए पनि छलफलका एजेन्डाबारे औपचारिक रूपमा केही सार्वजनिक गरिएको छैन ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार छलफल शान्त र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो । बैठकपछि सहभागी नेताहरूले सञ्चारकर्मीहरूसँग कुनै प्रतिक्रिया नदिएका कारण छलफलको निष्कर्ष खुल्न सकेको छैन । पछिल्लो समय राजनीतिक गतिविधि तीव्र बनेको सन्दर्भमा राष्ट्रपतिसँग शीर्ष नेताहरूको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्