काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू विरुद्ध मुद्दा लगाउने सरकार अपदस्त भई अन्ततः भाग्न बाध्य भएको कडा टिप्पणी गरेका छन् । शनिवार चितवनमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै लामिछानेले विगतमा आफूलाई झुटा मुद्दामा फसाइएको दाबी गर्दै ती मुद्दा लगाउनेहरू नै जनताको निर्णयबाट सत्ताच्युत भएको बताएका हुन् ।
सभालाई सम्बोधन गर्ने क्रममा लामिछानेले कारागारमा बिताएको समय स्मरण गर्दै भने, “मलाई धेरै कुरा भन्नु छ, धेरै कुरा भन्नु पनि छैन । किनकि मैले लामो समय कारागारमा बिताएँ । ममाथि लगाइएका मुद्दाहरूको सिलसिला अझै सकिएको छैन । तर मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भाग्यो ।” उनले ती मुद्दाहरूलाई आफूले शरीरमा बोकेर बाँचिरहेको उल्लेख गर्दै यसले आफूलाई विचलित नगरेको बताए ।
उनले आफू विरुद्ध लगाइएका मुद्दालाई राजनीतिक प्रतिशोधको परिणाम भएको सङ्केत गर्दै सत्य र न्यायको पक्षमा आफू दृढ रहेको बताए । “तिनले झुन्ड्याएका मुद्दा यो शरीरमा बोकेर बाँचेको छु, तर मलाई केही पनि फरक पर्दैन,” उनले भने, “जनताको भरोसा र समर्थन नै मेरो शक्ति हो ।”
लामिछानेले राजनीतिक परिवर्तनका नाममा हुने दमन र अन्यायको अन्त्य हुनुपर्नेमा जोड दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको पक्षमा निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आगामी दिनमा पनि भ्रष्टाचार, दुरुपयोग र राजनीतिक षड्यन्त्रविरुद्ध नडगमगाई उभिने स्पष्ट पारे ।
चितवनमा आयोजित उक्त सभामा पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।


