एमाले महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धाको वातावरण बनेन : उपमहासचिव योगेश भट्टराई


काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वच्छ र निष्पक्ष प्रतिस्पर्धाको वातावरण नबनेको भन्दै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ईश्वर पोखरेल समूहले आयोजना गरेको समीक्षा भेलापछि बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले प्रतिनिधि छनोटदेखि बन्दसत्र र निर्वाचन प्रक्रियासम्म पार्टी संरचनाको चरम दुरुपयोग भएको आरोप लगाए ।

उनका अनुसार सङ्गठन विभागलगायत पार्टीका विभिन्न निकायहरूलाई गुटगत स्वार्थअनुसार प्रयोग गरिएको छ, जसका कारण आन्तरिक लोकतन्त्र अस्वस्थ बनेको छ । यसले एमालेको लोकतान्त्रिक अभ्यास र मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको भट्टराईको भनाइ छ । “हाम्रो लाइन न त विभाजन हो, न त आत्मसमर्पण,” उनले भने, “पार्टीभित्रै बसेर निरन्तर संघर्ष गर्नु नै हाम्रो बाटो हो।”

भट्टराईले अध्यक्ष केपी शर्मा ओलीका सकारात्मक प्रस्तावलाई समर्थन गर्ने स्पष्ट गर्दै गुटबन्दी, पक्षपात र मानमर्दन हुने गतिविधि देखिए कडा प्रतिवाद गरिने चेतावनी पनि दिए । उनले पार्टीभित्र ‘अराजनीतिक बार्गेनिङ’ स्वीकार्य नहुने बताउँदै सामूहिक निर्णय प्रक्रिया र नेतृत्व हस्तान्तरणको एजेन्डा छोड्न नसकिने स्पष्ट पारे ।

आगामी निर्वाचन र बाह्य प्रतिस्पर्धामा पार्टीलाई विजयी बनाउने विषयमा भने आफूहरू एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै भट्टराईले महाधिवेशनमा आफ्नो पक्षले अपेक्षित सफलता नपाउनुका कारणहरूको गहिरो समीक्षा पुस २६ देखि २८ गतेसम्म बस्ने केन्द्रीय कमिटी बैठकमा गरिने जानकारी दिए ।

उनले निर्वाचनमा पराजित भएका नेताहरूलाई विचलित नहुन र पार्टी निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै आन्तरिक कमजोरी सच्याउँदै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्