शिक्षककै लगानीमा मञ्च निर्माण : बेलबारीको भगवती विद्यालयमा प्रेरणादायी पहल


बेलबारी । जहाँ इच्छा हुन्छ, त्यहाँ बाटो पनि बन्दो रहेछ। केही यस्तै उदाहरण बनेका छन् बेलबारी नगरपालिका–३ स्थित भगवती माध्यमिक विद्यालयका शिक्षकहरू, जसले विद्यालय सुधारको जिम्मा आफ्नै काँधमा लिँदै नयाँ संरचना निर्माण गरेका छन्।

शिक्षकहरूको व्यक्तिगत लगानीबाट निर्माण गरिएको “भगवती मञ्च” को लागत १ लाख ८४ हजार रुपैयाँ रहेको छ। भवन निर्माणका लागि कुनै बाह्य स्रोत वा सरकारी अनुदान होइन, शिक्षकहरूको नै साझा अठोट र समर्पण मुख्य इन्धन बन्यो।

विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद आचार्य शिक्षकहरूको यो कदमप्रति गर्व प्रकट गर्दै भन्छन्, “गुणस्तरीय शिक्षासँगै शैक्षिक संस्थाको समग्र विकासमा हामी शिक्षकहरू समर्पित छौँ। यो मञ्च त्यसको प्रमाण हो।”

उनका अनुसार आगामी शैक्षिक सत्रमा विद्यालयको भौतिक पूर्वाधारलाई अझ सुदृढ बनाउने योजना छ। यद्यपि विद्यालयमा हाल कोचिङ कक्ष सञ्चालनका लागि कोठाको अभाव रहेकोले तत्कालीन आवश्यकता पूर्तिमा सबैको सहयोग अपरिहार्य भएको उनको भनाइ छ।

प्रधानाध्यापक आचार्यले थप जानकारी दिँदै कक्षा १२ को नतिजा उल्लेखनीय रहेको बताए। “शैक्षिक व्यवस्थापनका थुप्रै चुनौतीबिच पनि हाम्रो विद्यालयका ८० प्रतिशत विद्यार्थी कक्षा १२ मा सफल भएका छन्,” उनले भने।

विद्यालयको शैक्षिक उन्नयनमा थप सहयोगको अपेक्षा गर्दै उनले अभिभावकहरूलाई आफ्ना सन्तानलाई पठनपाठनमा प्रोत्साहित गर्न र विद्यालयमा पठाउन आग्रहसमेत गरेका छन्। शिक्षकहरूको यस प्रकारको पहलले न केवल विद्यालयको भौतिक रूपान्तरणमा सहयोग पुर्‍याएको छ, बरु शिक्षा क्षेत्रमा निष्ठा र समर्पणले के कस्तो परिवर्तन सम्भव छ भन्ने उदाहरण पनि प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस्