विराटनगर । प्रेस चौतारी नेपाल, मोरङले आयोजना गरेको विशेष समारोहमा निवर्तमान अध्यक्ष सुदीप कोइरालालाई स्वर्गीय जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। पुरस्कार स्वरूप नगद १५,००० रुपैयाँ, प्रमाणपत्र र सम्मानपत्र प्रदान गरिएको हो।
कोइरालाले लामो समयदेखि पत्रकारिता क्षेत्रको सशक्तीकरणमा पुर्याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै सो पुरस्कार प्रदान गरिएको हो। प्रेस चौतारी मोरङले प्रत्येक वर्ष पत्रकारितामा विशेष योगदान पुर्याउने व्यक्तित्वलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ।
सो अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल पत्रकार महासंघ कोशी अध्यक्ष भरत खड्का, चौतारी मोरङ अध्यक्ष चिना थापा, मोरङ इन्चार्ज सुमन सुस्केरा लगायतले पुरस्कारले पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरूलाई थप प्रेरणा र ऊर्जा दिने विश्वास व्यक्त गरेका थिए।