“पत्रकारिता लोकतन्त्र सुदृढीकरणको मेरुदण्ड हो”: मुख्यमन्त्री कार्की


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न पत्रकारिता क्षेत्रको भूमिकालाई महत्त्वपूर्ण रहेको बताएका छन्। प्रेस चौतारी नेपाल, मोरङले आयोजना गरेको स्वर्गीय जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले पत्रकारिताले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न प्रभावकारी भूमिका निर्वाह गरिरहेको उल्लेख गरे।

मुख्यमन्त्री कार्कीले लोकतन्त्र स्थापनादेखि यसलाई संस्थागत गर्नसम्मको यात्रामा सञ्चार क्षेत्रले खेलेको भूमिकालाई स्मरणीय बताउँदै यसको सशक्तीकरण अपरिहार्य भएको बताए। उनले भने, “प्रदेशका हालका समस्या क्रमशः समाधान हुँदै छन्। यो आर्थिक वर्षमा झनै उत्कृष्ट काम हुनेछ भन्ने हाम्रो विश्वास छ।”

उनका अनुसार, कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा चालु तथा पुँजीगत गरी ८१ प्रतिशत बजेट खर्च गरेको थियो, जसका आधारमा सातै प्रदेशमध्ये पहिलो स्थानमा उभिन सफल भएको छ। आन्तरिक राजस्वतर्फ ४ अर्ब ९८ करोडको लक्ष्य राखिएकोमा ९८ प्रतिशत राजस्व सङ्कलन भएको र त्यो अघिल्लो वर्षभन्दा ७.५ प्रतिशतले बढी रहेको मुख्यमन्त्री कार्कीले जानकारी गराए।

सुशासनसम्बन्धी उठेका प्रश्नहरूबारे उनले प्रदेश सरकारले गम्भीरतापूर्वक ध्यान दिएको बताउँदै बेरुजु न्यूनीकरण गर्दै नागरिकमा सुशासनको अनुभूति गराउने प्रतिबद्धता पनि व्यक्त गरे। उनले पत्रकार तथा सञ्चारकर्मीको क्षमता विकास र सुरक्षाका लागि प्रदेश सरकारद्वारा प्रस्तुत ‘प्रदेश सञ्चार प्रतिष्ठान विधेयक’ हाल प्रदेशसभामा छलफलको क्रममा रहेको र छिट्टै पारित हुने विश्वास पनि दिलाए। उक्त विधेयकले सञ्चारकर्मीको स्वास्थ्य बिमा र वृत्ति विकासमा सहयोग पुर्‍याउने उनले स्पष्ट पारे।

कार्यक्रममा प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष सुदीप कोइरालालाई नगद १५,००० सहित स्वर्गीय जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। यो पुरस्कार प्रत्येक वर्ष प्रेस चौतारी मोरङले पत्रकारितामा विशेष योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रदान गर्दै आएको छ।

सो अवसरमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्काले पुरस्कारले पत्रकारलाई ऊर्जा दिने बताएका थिए भने चौतारी मोरङकी अध्यक्ष चिना थापा र मोरङ इन्चार्ज सुमन सुस्केराले पनि विचार व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्