ग्वार्को ओभरपास उद्घाटन : काठमाडौं चक्रपथमा ट्राफिक सहज हुने आशा


काठमाडौं । काठमाडौं उपत्यकाको अत्यधिक व्यस्त सडक क्षेत्र ललितपुरको ग्वार्को चोकमा निर्माण सम्पन्न गरिएको ओभरपासको आज (शुक्रबार) एक समारोहका बीच उद्घाटन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त ओभरपास उद्घाटन गर्दै चक्रपथको सवारी चाप व्यवस्थापनमा यो संरचना महत्वपूर्ण हुने बताएका छन्।

चक्रपथ विस्तार योजनाअन्तर्गत ग्वार्को चोकमा निर्माण गरिएको यो ओभरपास कोटेश्वरदेखि कलंकीसम्म हुने ट्राफिक जाम न्यूनीकरण गर्न बनाइएको पहिलो संरचना हो। ४५५ मिटर लम्बाइ र ६ मिटर उचाइ रहेको ओभरपासमा सवारी चढ्नका लागि दायाँतर्फ १८० मिटर तथा बायाँतर्फ ११० मिटर लामो र्‍याम्प निर्माण गरिएको छ। ओभरपासको ग्राउन्ड क्लियरेन्स पनि ६ मिटर रहेको छ।

२०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का पाएको ओभरपासको निर्माण पटक–पटक म्याद थप्दै २०८२ साल जेठमा मात्र सम्पन्न भएको हो। ठेकेदार कम्पनीलाई सुरुमा २०८० साल फागुन १२ गतेसम्मको म्याद दिइएको थियो। तर समयमै काम नसकिएपछि २०८१ पुस ८ सम्म म्याद थपियो। पुनः ४० मिटरको पुनर्निर्माण आवश्यक परेपछि चैत्र मसान्तसम्म म्याद मागिएको थियो। वर्षाका कारणले गर्दा निर्माण कार्य वैशाखमा मात्र सम्पन्न भएको हो।

ओभरपासको मुख्य संरचना निर्माणसँगै लेन सेपरेटर, लाइनिङ, ट्राफिक बत्ती जडानजस्ता कार्य पनि पूरा भइसकेको छ। यो ओभरपास सञ्चालनमा आएपछि चक्रपथको सातदोबाटो–कोटेश्वर खण्ड तथा मंगलबजार–इमाडोल–लुभु सडक खण्डमा सवारी आवागमन सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्