बेतना सिमसारमा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा फुड फेस्टिबल कार्यक्रम हुने


बेलबारी । बेलबारीको बेतना सिमसारमा नयाँ वर्ष २०८२ को अवसरमा एक दिने फुड फेस्टिबल तथा शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ । बुधवार पत्रकार सम्मेलन गरेर बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहले कार्यक्रमबारे जनाएको हो ।

२०८२ लाई पर्यटकीय वर्ष बनाउन, आन्तरिक पर्यटकलाई प्रवर्द्धन गर्न उक्त कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक तथा समूहका सचिव सुजित बस्नेतले बताएका छन् । साथै २०८२ लाई कोशी प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरेसँगै, प्रचारप्रसारको लागि पनि शुभकामना आदानप्रदान तथा फुड फेस्टिबल कार्यक्रम गर्न लागेको बस्नेतले बताए ।

२०८२ पर्यटन वर्षमा बेलबारीको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्य रहेको बस्नेत बताउँछन् । शुभकामना आदानप्रदान तथा फुड फेस्टिबल कार्यक्रममा बेतनालाई सजाएर आकर्षक बनाउने पनि बस्नेतले जनाएका छन् । बस्नेतका अनुसार नयाँ वर्षको दिन करिब १० हजार आन्तरिक पर्यटन बेतनामा आउने छन् ।

प्रदेश सरकारले पर्यटन वर्ष मनाइरहँदा पर्यटक क्षेत्रको प्रवर्द्धनको लागि कार्यक्रम गर्न लागेको समूहकी कोषाध्यक्ष बिन्दुकला गुरुङले बताइन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिने गुरुङले जनाइन । जातीय पहिचानलाई प्राथमिकतामा राखेर विभिन्न जातजातिहरूको खानाका परिकार बनाउने गुरुङले बताइन । कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न सबैलाई आग्रह गर्दै निमन्त्रण पनि गरेकी छिन ।

पत्रकार सम्मेलन समूहकी उपाध्यक्ष रिता कोइरालाको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्