बेलबारी । श्री कबिर मा.विको वार्षिक उत्सव तथा ३७ औँ अभिभावक दिवस सम्पन्न भएको छ । बेलबारी नगरपालिका वडा नं.२ मा रहेको कबिर मा.विको वार्षिक उत्सव तथा अभिभावक दिवस मङ्गलवार सम्पन्न भएको हो ।
सोही अवसरमा २ तले नयाँ भवनको उद्घाटन साथै २ शिक्षक तथा विद्यालय स्थापनामा सहयोग पुराउने एक स्थानीयलाई विद्यालयले सम्मान पनि गरेको छ । कार्यक्रमको साथै भवनको समुद्घाटन नगर प्रमुख दिलप्रसाद राईद्वारा भएको हो ।
सम्मानित हुनेमा विद्यालयका शिक्षक सञ्जीव धिमाल र सरस्वती दाहाल न्यौपाने रहेकी छिन । साथै २०४३ सालमा प्रथम आम भेला गराई कबिर स्कुलको सञ्चालनको योजना अग्रसर गर्ने तत्कालीन पञ्चायतकालीन वडा नं.४ का अध्यक्ष स्व. तुलसीराज राईलाई मृत्युपरान्त विद्यालयले सम्मान गरेको छ ।
सञ्जीव धिमाल र सरस्वती दाहाल न्यौपानेलाई नगर प्रमुख राईद्वारा दोसल्ला ओढाउनुको साथै सम्मान-पत्र प्रदान गरिएको छ । स्व. तुलसीराज राईको सम्मान पत्र उनका भतिज प्रेम राईलाई हस्तान्तरण गरिएको छ ।
नगर प्रमुख राईले कार्यक्रमलाई सम्बोधन गर्दै कबिर प्रविधि मैत्री उन्मुख रहेको बताएका छन् । थप विकास गर्नुको साथै अधिकतम प्रयोग गर्न पनि आग्रह गरेका छन् । शिक्षण पेसा जागिर मात्र नभएर देशको सक्षम जनशक्ति उत्पादन गर्ने कार्य भएकोले शिक्षकहरूले कुनै लापरबाही गर्न नहुने राईले बताए । राईले शिक्षा क्षेत्रको विकासमा नगरपालिकाको सधैँ सहयोग रहिरहने प्रतिबद्धता पनि गरेका छन् ।
कार्यक्रममा कबिरका पूर्व शिक्षक हेम चन्द्र तिम्सिनाले रु.११ हजार सहयोग प्रदान गरेका छन् । कार्यक्रममा करिबमा अध्ययनरत विद्यार्थीहरू तेक्वान्दो खेलाडीहरूले स्वागत सलामी प्रदान गर्नुको साथै खेल प्रतिभा प्रस्तुत गरे । साथै विद्यार्थीहरूले सांस्कृतिक नृत्य पनि प्रस्तुत गरे ।
सामाजिक परीक्षण प्रतिवेदन कबिर शिक्षक अभिभावक सङ्घका अध्यक्ष होम पिठाकोटी अशक्त भएको कारण शिक्षक सञ्जीव धिमालले प्रस्तुत गरे भने विद्यालयको प्रतिवेदन प्रधानाध्यापक अभय लिम्बुले प्रस्तुत गरे । कार्यक्रममा पूर्व सांसद हर्कमान तामाङ, वडा नं.२ का अध्यक्ष कृष्ण गुरुङ, पूर्व वडा अध्यक्ष घनश्याम गौतम, लगायतको उपस्थिति रहेको थियो । वार्षिक उत्सव तथा ३७ औँ अभिभावक दिवस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण लिम्बुको अध्यक्षतामा सम्पन्न भएको हो ।