कानेपोखरीमा सुरक्षित नागरिक आवासहरू बन्दै : विदेशी नागरिकसहित जनप्रतिनिधि श्रमदान गर्दै


कानेपोखरी । मोरङको कानेपोखरी १ झरनाघुट्टुमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत आवास निर्माण कार्य हुँदै छ । कानेपोखरी गाउँपालिका, ह्याविट्याट फर ह्युमानिटि नेपाल र साहारा नेपाल बिचको त्रिपक्षीय साझेदारीमा निर्माण कार्य भइरहेको हो ।

बाँसको घर निर्माण सम्बन्धी प्रविधि, सिप र ज्ञान आदानप्रदान गर्न अमेरिकाबाट १६ जना र जापानबाट १२ जना गरी जम्मा २८ जना स्वयंसेवी दाताहरू निर्माण कार्यमा खटिरहेका छन् । कानेपोखरी गाउँपालिकाको आर्थिक वर्ष २०७९÷०८० मा वडा नं. ३ को राजगञ्जमा ३० घर, आ.व ०८०÷०८१ मा वडा नं. ४ को क्याम्पाघाटमा १७ घर र आ.व २०८१÷०८२ मा वडा नं. ३ को कोलटोलमा ३० घर र वडा नं. १ को झरनाघुट्टुमा ११ घर निर्माणाधीन छ ।

निर्माण कार्यमा जनप्रतिनिधिहरू पनि श्रमदान गरिरहेका छन् । कतिपय घरहरू निर्माण कार्यको अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको अनुसार निर्माणाधीन आवासमा ४ कोठा, १ शौचालय, १ भान्सा घर सहितको ८८ वटा घर बन्दै छ । कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमती इङ्नाम पनि श्रमदानमा जुट्ने गरेकी छिन ।

गाउँपालिका आवास, शिक्षा, स्वास्थ्य, कृषिलाई प्रमुख प्राथमिकताका साथ समानान्तर विकास तर्फ अग्रसर रहेको अध्यक्ष इङ्नामले बताउँछिन् । उनी भन्छिन्, “पुवर्धार विकासमा विभिन्न सामुदायिक संरचना निर्माण, कालोपत्रे निर्माण आवश्यक छ तर त्यो भन्दा पनि बढी अति जीर्ण भएको घर र घर नै नभएको विपन्न परिवारको लागि बस्ने घर निर्माण गर्न महत्त्वपूर्ण हो भन्ने लाग्छ । साथै शिक्षाले जीवन स्तर सुधार गर्छ । नागरिकले बिरामी हुँदा उपचार गर्न सके सबै क्षेत्रमा विकास गर्न सहयोग पुग्ने छ । तसर्थ स्वास्थ्य बिमा गर्न नसक्नेलाई गाउँपालिकाले बिमा गराइदिँदै छ ।”

स्वयंसेवकको रूपमा घर निर्माण कार्यमा घटिएका अमेरिकाका नागरिक नेक्स टोचनले कानेपोखरी गाउँपालिकाको कार्य सम्पादनको प्रशंसा गरेका छन् । भावी दिनमा पनि आवास निर्माण कार्यलाई निरन्तर दिन सकिने सम्भावना रहेको नेक्सले बताए । कानेपोखरी गाउँपालिकाको सहयोगमा अनुभवी व्यक्तिहरूसँग काम गर्न पाउँदा खुसी लागेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्