विराटनगर । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समिति सम्मान तथा पद हस्तान्तरण समारोह सम्पन्न भएको छ । शुक्रवार विराटनगरमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिको भरत खड्का नेतृत्वको नवनिर्वाचित समितिलाई पद हस्तान्तरण गर्नुको साथै विगतमा महासङ्घलाई योगदान पुराउनेहरुलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरूमा नेपाली कङ्ग्रेसका कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्की, पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री समसेर राई, पूर्व यातायात तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरे, प्रदेश सांसद तथा पूर्व विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली र न्युरो काड्रियो, विराटनगरका सञ्चालक डा.वीरेन्द्र विष्ट रहेका छन् । खुल्ला सत्र नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति अध्यक्ष लिलावल्लभ घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।
समारोहका प्रमुख आतिथ्य कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकार महासङ्घलाई ओझ बढाउने गरी काम गर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको पदस्थापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले मुलुकको लोकतन्त्र, शासन व्यवस्था र सुशासनको पक्षमा पत्रकारहरू बुलन्द भएर लाग्नु पर्ने बताएका हुन । कार्कीले पत्रकारहरूले सरकारले गरेको राम्रो कामको प्रचार नगर्ने र विपक्षी मात्रै भइरहने हो भने बजारमा भएका झिल्केमिल्के भन्दा फरक नहुने बताए । उनले भने – ‘सरकारले गरेको राम्रो कामको पनि प्रचार गर्नुहोस्, खबरदारी पनि गर्नुभयो भने राम्रो हुन्छ । ‘
पछिल्लो समयमा नकारात्मकतालाई मात्रै प्राथमिकता दिएर अघि बढ्ने प्रवृत्ति हाबी हुँदै गएको बताउँदै नकारात्मक कामलाई निरुत्साहन गर्नुपर्ने बताए । आगामी प्रदेश सभाको अधिवेशनमा सञ्चार विधेयक पेस गर्ने जानकारी दिँदै पत्रकारहरूसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको कार्कीले बताएका छन्। कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले समाजमा निराशा उत्पन्न गराएर मुलुकलाई भड्खालोमा हाल्ने प्रवृत्तिका विरुद्ध पत्रकारहरू उभिनु पर्ने बताए।
कार्यक्रममा पूर्वमन्त्रीहरू उपेन्द्र घिमिरे, समशेर राई र विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुलीलाई सम्मान गरिएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष भरत खड्काले प्रतिबद्धता व्यक्त गरे भने पत्रकार महासङ्घका केन्द्रीय सदस्य कमल रिमाल, कोशी प्रदेशका पूर्वअध्यक्ष विक्रम लुइँटेल, मोरङकी अध्यक्ष सुशीला पाठक, समाजवादी प्रेस सङ्गठनका कोशी प्रदेश अध्यक्ष बन्धु पोखरेल, प्रेस सेन्टरका प्रदेश अध्यक्ष विनोद घिमिरे, प्रेस युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदित, निवर्तमान अध्यक्ष लीलावल्लभ घिमिरे, निवर्तमान महासचिव विवेक गौतम, निर्वाचन समितिका संयोजक यज्ञ शर्मा लगायतले व्यावसायिक पत्रकारितालाई विकास गर्न जोड दिँदै मन्तव्य राखेका थिए ।