बेलबारी । बेलबारी नगरपालिका वडा नं.११ मा बेलबारी खेलकुद प्रवर्द्धन तथा सांस्कृतिक महोत्सव हुने भएको छ । वडा नं.११ लक्ष्मिमार्ग स्थित लक्ष्मीमार्ग खेलमैदानमा मङ्सिर १७ गते देखी महोत्सव हुने भएको हो ।
आयोजक संस्था एल.एक्स.सिटी फुटबल खेलकुदले शनिवार पत्रकार सम्मेलन गरेर महोत्सवबारे जानकारी गराएको हो । महोत्सव पुस ५ गतेसम्म हुने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटनमा सविन राईको प्रमुख प्रस्तुति रहने कार्यक्रम व्यवस्थापन समितिका सचिव रोशन कुमार श्रेष्ठले जनाएका छन् ।
दर्शकको माग अनुसारको चर्चित राष्ट्रिय कलाकारको साथै स्थानीय कलाकारहरूलाई पनि प्राथमिकता दिइने श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार महोत्सवमा प्राथमिकताका साथ स्थानीय कलाकारहरूलाई प्रतिभा प्रस्तुति गर्ने अवसर प्रदान हुने छ ।
कार्यक्रम संयोजक नुतन लिम्बुले खेलकुद प्रवर्द्धन तथा व्यवसायको स्तर वृद्धि गर्नु, बेलबारी नगरको पर्यटकीय स्थललाई परिचित गराउने उद्देश्यले महोत्सव गर्न लागेको बताए । विशेष गरी स्थानीय स्तरमा खेलकुद विकासको लागि साथै स्थानीय खेलाडीको भविष्य सुरक्षा गर्ने कार्यको लागि महोत्सवको मुनाफा लगानी गर्ने लिम्बुले बताएका छन् ।
सुरक्षा व्यवस्था पनि कुनै कमीकमजोरी नहुने सुरक्षा व्यवस्थापन समितिका संयोजक दुर्गा तामाङले जनाएका छन् । तामाङका अनुसार स्वयम सेवक सुरक्षाको लागि दैनिक एक सय भन्दा बढी युवाहरू परिचालन गरिने छ । साथै प्रहरीहरूसँगको समन्वयमा सुरक्षामा कडाइ गर्ने तामाङले बताए ।
आयोजकका अनुसार महोत्सवमा रु.६५ लाख खर्च र ७० लाख आम्दानी हुने अनुमान रहेको छ ।