उर्लाबारीमा बृहत् कन्सर्ट : लाहुरे र पूर्ण राईको प्रस्तुति रहने


उर्लाबारी। उर्लाबारी ७ स्कुलडाँडामा अवस्थित राधिका मावि परिसरमा भदौ १५ गते वृहत् साङ्गीतिक कार्यक्रम हुने भएको छ । ‘टिन एज’ माझ चर्चित र्‍यापर लाहुरे र पूर्ण राई एन्ड दाजुभाइहरूको विशेष प्रस्तुति रहने कार्यक्रमले मनोरञ्जनका अलावा लागुऔषध नियन्त्रणबारे सचेतना फैलाउने आयोजक पक्षले अपेक्षा लिएको छ ।

लाहुरे कुनै समयमा आफै पनि लागुऔषाध प्रयोगकर्ता भएको र अहिले सामान्य अवस्थामा फर्किएर नेपाली र्‍यापलाई व्यावसायिक रूपमा अघि बढाउने एक महत्त्वपूर्ण सेलिब्रेटीका रूपमा स्थापित छन् । उनले आफ्नो बितेको जीवन र लागुऔषधसँगको नकारात्मक सम्बन्धलाई जीवनीको रूपमा स्टेजमा प्रस्तुति दिनेछन् । यस्तै, साङ्गीतिक ब्यान्ड ‘पूर्ण राई एन्ड दाजुभाइहरू’को बेजोड प्रस्तुति रहने छ ।

उर्लाबारी इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको कार्यक्रममा व्याण्डले आफ्ना गीत उर्लाबारीमा सुनाउन लागेको हो । सृष्टि श्रेष्ठको व्यवस्थापकीय व्याण्डमा पूर्ण राई भोकलिस्ट, देगोसकुमार राई वसिष्ठ, सुमेक योन्जन ड्रमर, सुसन कार्की गिटारिष्ट र इयान थुलुङ राई फ्ल्युटमा छन् । देगोस, सुमेक र पूर्ण धरानका हुन् भने सुसन उर्लाबारी र इयान काठमाडौँका हुन् । व्याण्डले नेपाल र भारतका ५० बढी स्थानमा आफ्नो सोलो ‘शो’ गरिसकेको छ । व्याण्डले हालै मात्र ‘परिभाषा’ बोलको गीत सार्वजनिक गरेको थियो । यो गीत युट्युबको ट्रेन्डिङमा पनि परेको थियो । श्रोताले गीतमा प्रयोग गरिएको शब्द र सङ्गीतको मेलोडीलाई मन पराएका थिए ।

आयोजक संस्थाका नारद लिम्बूले लाहुरे र पूर्ण राईजस्ता उम्दा कलाकारको लाइभ प्रस्तुति हुनु स्थानीय दर्शकलाई मनोरञ्जनको पूर्ण खुराक हुने बताए । विभिन्न सामाजिक गतिविधि गर्दै आएको उर्लाबारी इभेन्ट म्यानेजमेन्टले बेलाबेला मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको छ । ‘सामाजिक कार्यक्रमका साथै सांस्कृतिक उत्थान र मनोरञ्जनलाई पनि समेट्दै लगेका छौँ’ कार्यक्रम आयोजककै तर्फबाट अनिल श्रेष्ठले भने । उक्त कन्सर्टमा पूर्वी मोरङ र पश्चिमी झापाका उल्लेख्य दर्शक आउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्