नवराज पोखरेलको मुक्तकसङ्ग्रह नवशिलाको परिचर्चा रचना वाचन कार्यक्रम सम्पन्न


बेलबारी । नवराज पोखरेलको मुक्तकसङ्ग्रह नवशिलाको परिचर्चा रचना वाचन कार्यक्रम बेलबारी साहित्य विकास समितिको आयोजनामा सम्पन्न भएको छ । बेलबारी नगरपालिका वडा नं.३ स्थित सुन्दरशान्ती टोलमा अवस्थित बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा शनिवार राष्ट्रिय धान दिवसको दिन सम्पन्न भएको हो ।

नवशिलाका कृतिकार नवराज पोखरेल हुन भने प्रकाशक शिला पोखरेल रहेकी छिन । नवशिलामा नवराजको ४ सयवटा मुक्तक रहेको छ । नवराजका अनुसार २०५२÷५३ देखी सम्पादक प्रकाशक भएर मित्रता नामक लघु पत्रिकाको प्रकाशनबाट औपचारिक लेखन सुरु गरे थिए । लेखन कार्यको यात्रामा नवराजले नवशिलाको प्रकाशनसँगै अहिले साहित्य क्षेत्रमा इँटा थप्ने कार्य गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईले शुभकामना प्रदान गर्दै साहित्य अग्रगामी हुनु पर्ने बताएका छन् । मानव सभ्यता र समाजको विकाससँगै चिन्तनको पनि प्रमुख रहेको भूमिका बताउँदै समाज शास्त्रीहरूको जन्मसँगै दर्शन शास्त्र र ज्ञानहरूको विकासले विचार र चिन्तन विभाजित भएर समाज पनि विभाजित रहेको राईले बताए । र यस समाजमा विभाजी विचार र सोच भएता पनि राजनीतिज्ञसँगै सबै मान्छे गर्व साथ बच्ने वातावरण सृजना गर्ने काम साहित्यकारहरूको पनि प्रमुख भूमिका रहको राईले बताएका छन् । उनले भने, ‘सबै मान्छेलाई मान्छे बनाउनु पर्छ ।’

साहित्य सृजनाद्वारा निराशा, आक्रोश हैन साहस र निकास दिनु पर्ने राईले आग्रह गरेका छन् । उनले भने, ‘यो भएन त्यो भएन भनेर निराशा, आक्रोशले केही प्रतिफल आउँदै , निकास दिनु पर्छ । साहस दिनु पर्छ । मर्न लागेको मान्छेलाई मर्ने वातावरण बनाउने हैन । बाच्ने साहस दिनु पर्छ । त्यो उच्च चिन्तन लिन मेरो आग्रह छ ।’

साहित्य क्षेत्रमा नगरपालिकाको लगानी भइरहेको र साहित्य क्षेत्रको विकासको लागि अझै धेरै सहयोग गर्न बाकी रहेको बताउँदै साहित्य क्षेत्रको उचाइ वृद्धि गर्न पनि राईले आग्रह गरेका छन् । जनताले, देशले चाहे जस्तो विश्वको चर्चित साहित्यकारको उच्च उचाइ हाम्रो साहित्यकारले पनि प्राप्त गरुन् भन्ने चाहाना रहेको राईले बताए ।

कार्यक्रममा नवशिलाबारे आफ्नो मत व्यक्त गर्दै साहित्यमा समाज बद्लनु सक्ने शक्ति रहेको राईले विश्वास व्यक्त गरेका छन् । राईले भने ‘साहित्य अग्रगामी हुनु पर्छ पश्चगामी हैन ।’ नवराजको नवशिलामा गणतन्त्रको विरोध भेटिएको जनाउँदै, विरोधसँगै निकास पनि अनिवार्य दिनु पर्ने राईले आग्रह गरेका छन् । ‘नवराज जीको मुक्तकमा गणतन्त्रको विरोध गरेको पनि देखे । गणतन्त्र अगाडी पछाडि के छ त्यो पनि सोची दिनु पर्यो । पछाडि फर्किने हो भने राजतन्त्र चाहियो । अगाडी बढ्दा कम्युनिष्ट जनवाद चाहिएको हो की ? त्यसमा प्रस्टता आउनु पर्छ’ उनले भने, ‘हरेक कुरामा समाज पछि फर्किनु हुँदैन, यथास्थितिमा पनि रहनु हुँदैन ।’ अग्रगामी सोचको साथ परिवर्तन गर्न सक्ने साहित्य सृजना होस भन्ने राईले शुभकामना प्रदान गरेका छन् ।

कार्यक्रममा पूर्व सांसद तथा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, प्राज्ञ विवश पोखरेल, पत्रकार केशु विरही लगायतले नवशिलाबारे आफ्नो विचार राख्दै नवराजको प्रशंसा गरेका थिए र शुभकामना प्रदान गरे । कार्यक्रममा संविधान सभाका सदस्य मधु गुरुङ, बेलबारी बहुमुखी क्याम्पसका प्रमुख भूपेन्द्र कोइराला, साहित्यकार इरान राई, रेखा सुवेदी, तिला लेकाली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्