इलाका प्रहरी कार्यालय बेलबारीमा नवनिर्मित आवास भवन तथा भन्साघरको उद्घाटन 


बेलबारी । इलाका प्रहरी कार्यालय बेलबारीको आवास भवन तथा भन्साघर निर्माण कार्य सम्पन्न भएको छ । बेलबारी नगरपालिका, सुन्दरहरैँचा नगरपालिका, केराबारी गाउँपालिका र ग्रामथान गाउँपालिकाको आर्थिक सहयोगमा करिब ५० लाखमा उक्त आवास भवन तथा भन्साघर निर्माण भएको हो ।

बुधवार बेलबारी नगरपालिका वडा नं.१ मा रहेको इलाका प्रहरी कार्यालय बेलबारीको परिसरमा नवनिर्मित आवास भवन तथा भन्साघरको समुद्घाटन समारोह पनि सम्पन्न भएको छ । नवनिर्मित आवास भवन तथा भन्साघरको समुद्घाटन प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ र बेलबारीका नगर प्रमुख दिल प्रसाद राईबाट संयुक्त रूपमा भएको हो ।

भवन निर्माणको लागि बेलबारी नगरपालिकाले रु.१५ लाख, सुन्दरहरैचा नगरपालिकाले रु.१५ लाख, केराबारी गाउँपालिकाले रु.८ लाख, ग्रामथान गाउँपालिकाले रु.७ लाख ५० हजार आर्थिक सहयोग साथै रत्न टोल विकास संस्था, बेलबारी १ र इलाका प्रहरी कार्यालय बेलबारीले रु.४ लाख १० हजार रुपैयाँ बराबरको श्रमदान गरेको बेलबारी नगरपालिकाका सब-इन्जिनियर विप्लव राजवंशीले जानकारी दिएका छन् ।

उद्घाटन समारोह कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक खापुङले स्रोत साधनको अभाव भए पनि शान्ति सुरक्षाको हकमा कोशी प्रदेशमा कुनै कमी कमजोरी हुन नदिने बताएका छन् । साथै इलाका प्रहरी कार्यालय बेलबारीको कार्य क्षेत्र, मुद्दाको चाप, हाइवे क्षेत्र, जनसङ्ख्याको कारण बेलबारीमा डिएसपीको दरबन्दी आवश्यक रहेको खापुङले बताए । बेलबारीमा डिएसपीको दरबन्दी कायम गर्नु पर्ने आवश्यकता रहेको आइँजीलाई पनि रिपोर्टिङ गरेको र आइजी सकारात्मक रहेको खापुङले जानकारी दिएका छन् ।

खापुङले बेलबारीबाट विशेष परिस्थिति र कारणवश नेपाल प्रहरीको प्रादेशिक अस्पताल सरे पनि बेलबारीमा नै अस्पताल राख्न आवश्यक रहेको बताएका छन् । उनले भने ‘के कारण अस्पताल सरो त्यस विशेषमा धेरै थाहा छैन तर बेलबारीमा अस्पताल राख्न आवश्यक छ । सम्भवता चाडै नेपाल प्रहरी अस्पतालले बेलबारीमा सेवा सुचारु गर्ने छ ।’

बेलबारी नगर प्रमुख राई र उपप्रमुख नितु थापा कोइरालाको नेतृत्वमा नायव महानिरीक्षक खापुङसहितको प्रहरी टोलीलाई बेलबारी ४ मा निर्माणाधीन नगर अस्पतालको भवन अवलोकन पनि गराइएको छ । उक्त भवन अवलोकन पश्चात् खापुङले नगर अस्पतालको भवन कोशी प्रदेश प्रहरी अस्पताल सञ्चालनको लागि पर्याप्त स्थान र राम्रो रहेको बताए । कोशी प्रदेश प्रहरी अस्पतालको आफ्नै भवन निर्माण कार्य सम्पन्न नभएसम्म हाललाई बेलबारी नगरपालिकाको नगर अस्पताल र कोशी प्रदेश नेपाल प्रहरी अस्पताल संयुक्त रूपमा सञ्चालन गर्ने योजना रहेको छ ।

नवनिर्मित आवास भवन तथा भन्साघरको समुद्घाटन समारोहमा सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाईँ, केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा बेलबारी नगरपालिकाकी नगर उपप्रमुख नितु थापा कोइराला, केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगर, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी गणका गणपति प्रहरी उपरीक्षक भीम बहादुर दाहाल, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख (एसपी) नवराज कार्कीले कार्यक्रममा स्वागत मन्तव्य गरेका थिए भने इलाका प्रहरी कार्यालय बेलबारीमा प्रमुख प्रहरी निरीक्षक तेज दाहालले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईको अध्यक्षतामा सम्पन्न भएको हो ।
नगर प्रमुख राईले ४ वटा पालिकामा इलाका प्रहरी कार्यालयले करिब ३ लाख नागरिकलाई सुरक्षा प्रदान गर्न सम्भव नहुने बताउँदै थप जनशक्तिसहित डिएसपीको दरबन्दी आवश्यक रहेको बताएका छन् । शान्ति सुरक्षासँगै स्वास्थ्य क्षेत्रमा पनि जनसङ्ख्याको आधारमा सेवा दिनु व्यवस्थापन हुनु पर्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्