बेलबारीमा दाउले प्रहार गरी श्रीमतीको निर्मम हत्या पछि श्रीमानले गरे आत्महत्या


बेलबारी । मोरङको बेलबारीमा श्रीमतीको निर्मम हत्या पछि श्रीमानले आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका वडा नं.१ स्थित भेडा टोलमा मङ्गलबार मध्यरातमा सो घटना घटेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार करिब ६० वर्षका बम बहादुर लिम्बुले धारिलो हतियार दाउ प्रयोग गरी ४५ वर्षका गीता लिम्बुको निर्ममता पूर्वक हत्या गरेका हुन । श्रीमतीको हत्या पछि बम बहादुरले सोही दाउले आफ्नै घाटी रेटेका थिए । दुई दम्पती ८ वर्षको छोरा सहित करिब ४ वर्ष देखी निर्मला राईको घरमा भाडामा बस्दै आएका थिए ।

मध्यरातमा घटेको घटनाको जानकारी इलाका प्रहरी कार्यालय बेलबारीलाई स्थानीयद्वारा जानकारी भएपछि प्रहरी निरीक्षक तेज बहादुर दाहालको नेतृत्व टोली १ः५० बजे घटना स्थल पुगेर गम्भीर घाइते बम बहादुरलाई उपचारको लागि विराटनगरको नोबेल अस्पताल पठाइएको थियो । तर अस्पतालमा उपचारको क्रममा बम बहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना स्थल पुग्दा गीता मृत्यु भइसकेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटना स्थलबाट प्रहरीले दाउ बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्