सुन्दरहरैँचाको सुकुना क्याम्पसमा विज्ञान‚ प्रविधि र व्यावसायिक प्रदर्शनी सुरु


फागुन २१‚ सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसमा तीन दिने विज्ञान‚ प्रविधि र व्यावसायिक प्रदर्शनी कार्यक्रम सुरु भएको छ । सुकुनाको आयोजनामा क्याम्पसको प्राङ्गणमा कोशी प्रदेशका उद्योग‚ कृषि तथा सहकारी मन्त्री माननीय रामकुमार खत्रीले रोवर्टबाट रिबन काटेर विज्ञान‚ प्रविधि र व्यावसायिक प्रदर्शनी कार्यक्रमको उद्घाटन गरेका छन् ।

प्रमुख अतिथि मन्त्री खत्रीले कार्यक्रमको सफलताको शुभकामना प्रदान गर्दै व्यावसायिक क्षेत्रले गर्ने व्यापार प्रदर्शनीभन्दा क्याम्पसले बहुआयामिक क्षेत्रमा गरेको प्रदर्शनी उत्कृष्ट रहेको बताए । शुभकामना प्रदान गर्दै बेलबारी नगरपालिकाका नगरप्रमुख डिपि राईले विद्यार्थीले गरेको सिर्जना‚ त्यसको सुव्यवस्थित प्रस्तुति र व्यवसायीहरूको सक्रिय सहभागिता यस ठाउँका लागि नौलो भएकोमा आफू प्रभावित भएको बताए ।

क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले SMC INNOVEX 2080 को औचित्य प्रस्ट्याउँदै फागुन २१‚ २२ र २३ गतेसम्म प्रदर्शन गरिने कार्यक्रममा अवलोकन गर्न सबैलाई आमन्त्रण गरेका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा भएको प्रदर्शनी कार्यक्रमको उद्घाटन समारोहमा जनप्रतिनिधिहरू‚ क्याम्पसका विद्यार्थी‚ प्राध्यापक तथा कर्मचारीहरू‚ अभिभावक‚ सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा विद्यार्थीहरू‚ स्थानीय व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सबै व्यवस्थापन क्याम्पसका बिबिए‚ बिएस्सि‚ बिएड विज्ञान‚ बिबिएस‚ बिएड र बिएमा अध्ययनरत विद्यार्थीहरूले गरेका छन् । विज्ञान‚ प्रविधि र व्यावसायिक क्षेत्रका ५० स्टलहरू कायम गरिएकोमा पहिलो दिन १५ हजारभन्दा बढी सहभागीहरूले अवलोकन गरेको क्याम्पस सहायक प्रमुख गणेश दाहालले बताए ।

उद्घाटन समारोहमा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सन्तोष लिम्बू‚ सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका महासचिव नारायण कार्की‚ सुविजिमुर माध्यमिक विद्यालयका प्रिन्सिपल गोविन्द कार्की र लेटाङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राम बराल‚ पूर्व मन्त्री राजकुमार ओझा र सुन्दरहरैँचाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

उद्घाटन सत्रको कार्यक्रममा विद्यार्थीको तर्फबाट बिबिए छैटौँ सिमेष्टरका विद्यार्थी एवम् प्रदर्शनी व्यवस्थापन समितिका संयोजक एलिस ओझा र क्याम्पसको तर्फबाट सञ्चालक समितिका उपाध्यक्ष ललितबहादुर श्रेष्ठले सहभागीहरूलाई स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन बिबिए छैटौँ सिमेष्टरका विद्यार्थीहरू क्रमशः देवराज पौडेल र प्रेक्षा अधिकारीले गरेका थिए । त्यसै गरी बिबिएकी छात्रा रोजिना राउतले सञ्चालन गरेको प्यानल छलफलमा युवा व्यवसायी उत्सव थापा र रोमन कट्टेलले सीप सिर्जना तथा व्यावसायिक सफलताका अनुभवहरू प्रस्तुत गरी सहजीकरण गरेका थिए ।

उक्त प्यानल छलफलमा २ सय भन्दा बढी विद्यार्थीहरू सहभागी भएको जानकारी सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले गराएका छन् । कार्यक्रममा अपराह्न ३ः० बजे पछि सांस्कृतिक कार्यक्रम सहित पहिलो दिनको प्रदर्शनी समापन भएको जानकारी उपप्राध्यापक खगेन्द्रराज दहलाले गराएका छन् ।

स्ववियु सभापति सन्तोष लिम्बूका अनुसार उक्त कार्यक्रम फागुन २३ गतेसम्म सञ्चालन हुने छ । २३ गते अपराह्न ५ः०० बजेसम्म सञ्चालन हुने क्याम्पसले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्