केराबारी ९ मा आमाछोरीलाई खुकुरी प्रहार : पेस्तोल, खुकुरीसहित ५० वर्षका पुरुष पक्राउ


मोरङ । मोरङको केराबारी गाउँपालिका–९ भलुवाइ निवासी ५० वर्षीय जमुनादेवी राई र उनकी २५ वर्षीय छोरी रेनुका राईलाई एक पुरुषले घरैमा बिहीबार खुकुरी प्रहार गरेको छ । लेटाङ नगरपालिका १ का ५२ वर्षीय निर कुमार राईले आमाछोरीलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

घर भित्रै आएर खुकुरी प्रहार गरेको जमुनादेवीकी ज्वाइँ योगेन राईले बताए । घटनाको खबरबारे जानकारी भए पछि अस्थायी प्रहरी पोष्ट भलुवाईबाट प्रहरी सहायक निरीक्षक टेकमणि खड्काको टोली घटना स्थल पुगेर उपचारको लागि दुवै जनालाई बिराटनर्सिङहोम अस्पताल विराटनगर पठाएका थिए । दुवै जनाको अस्पतालमा उपचार भइरहेको छ । बिरामीको स्वास्थ्य सुधारात्मक रहेको ज्वाइँ योगेनले जनाएका छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीले निरकुमारलाई नियन्त्रणमा लिएसँगै एक इटालियन अटो पेस्तोल एक थान, पेस्तोलमा लोड गरिएको म्याक्जिन एक थान, लोड गरिएको ४ राउण्ड गोली, घटना स्थलमा कालो पलास्टीमा राखिएको थप ४ राउण्ड गोली, एक थान नक्कली पेस्तोल, दापसहितको खुकुरी एक थान, फरुवा एक थान, नगद रु.१८ हजार ७० बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार ज्यान मार्ने उद्योग तथा हतियार खरखजाना मुद्दा दर्ता भई ४ दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्