बेलबारीकी कलेजोसम्बन्धी रोगबाट पीडित बालिकाको उपचारका लागि सहयोग जुट्दै


केशु विरही – बेलबारी । कलेजोसम्बन्धी रोगबाट ग्रसित मोरङको बेलबारीकी ६ वर्षीय बालिका एञ्जल धिमालको उपचारका लागि आर्थिक सहयोग सङ्लन तीव्र गतिमा अगाडि बढिरहेको छ । परिवारको एक्लो प्रयासबाट उपचार सम्भव नभएपछि उनीहरूले बालिकालाई बचाइदिन स्थानीयसँग हारगुहार मागेपछि अभियान नै चलाएर आर्थिक सहयोग उठाउन थालिएको थियो । बालिकाको उपचारका लागि ‘एञ्जल धिमाल बचाउ अभियान २०८०’ सुरु गरिएको छ ।

अभियान सुरु भएपछि सहयोग गर्ने क्रम बढ्दो रहेको छ । शुक्रवारदेखि सोमवार दिउसोसम्ममा ३ लाखभन्दा बढी रकम खातामा जम्मा भइसकेको समितिका सचिव राजु परियारले जनाएका छन् । उनले भने – सोमवार दिउसोको चार बजेसम्ममा ३ लाखभन्दा बढी रकम जम्मा भइसकेको छ ।’ उनले आर्थिक सहयोगको रकम अपेक्षाअनुसार नै उठिरहेको बताए । जेठ २३ गते बसेको वडावासीहरूको भेलाले बेलबारी नगरपालिका वडा नं २ अध्यक्ष कृष्णबहादुर गुरुङको संयोजकत्वमा ‘एञ्जल धिमाल बचाउ अभियान २०८०’ अभियान समितिको गठन गरेको थियो ।

अभियानका वडाका सामाजिक, राजनीतिक, शैक्षिक, व्यापारी, सहकारी कर्मीहरू, बहालवाला तथा सेवानिवृत्त कर्मचारी, सामुदायिक वनका सञ्चालक, वैदेशिक रोजगारीमा रहेका वडाका नागरिक सबै सदस्य रहने गरी ५०१ जनाको अभियान समिति निर्माण गरिएको छ । समितिले विभिन्न माध्यमबाट सहयोगको आह्वान गरिरहेको छ ।

को हुन एञ्जल ?

बेलबारी नगरपालिका वडा नं २, लालभित्ती निवासी वीरेन्द्र धिमाल र कुमारी श्रेष्ठ धिमालकी दोस्रो सन्तान हुन् – एञ्जल । उनी जन्मजात कलेजोसम्बन्धी समस्याबाट ग्रसित रहँदै आएकी छिन । कलेजो बिग्रँदै जाँदा सुधार नहुने देखिएपछि उनको कलेजो प्रत्यारोपण गर्नु पर्ने भएको छ ।

बालिकाकाको भारतको हरियाणा स्थित मेदान्त अस्पतालमा उपचार भइरहेको छ । उपचारको नाममा केवल रोकथाम मात्रै हुँदै आएको छ भने अब चाँडै कलेजो प्रत्यारोपण नगरे जुनसुकै बेला पनि बालिकालाई खतरा आउन सक्ने भनेर चिकित्सकले भनेपछि परिवार चिन्तामा परेका छन् । आमा आफैँले कलेजो दिने भनेकी छिन् । तर कलेजो प्रत्यारोपणका प्रक्रिया जटिल र अत्यन्तै खर्चिलो रहेको बताइन्छ ।

अस्पतालले यसका लागि नेपाली रुपैयाँ ४० लाख जति खर्च लाग्ने बताएको छ । ६ वर्ष सम्म नानीको उपचार गर्दा लगभग २० लाख जति खर्च भइसकेको परिवारले जनाएको छ । छोरीकै उपचारका लागि अहिले सम्म लागेको ऋण तिर्नका लागि नानीको बुबा वीरेन्द्र हाल मलेसियामा मजदुरी गरिरहेका छन् । छोरीलाई बचाइदिन आमाको आग्रह एन्जलसकी आमा कुमारी श्रेष्ठ धिमालले सबै मनकारी मनहरूसँग आफ्नी छोरीको प्राण बचाइदिन अनुरोध गरेकी छिन् । उनी भन्छिन् ‘मेरो एक्लो प्रयासले सम्भव भएन । तपाईँहरूले चाहनुभयो भने यो सम्भव छ । कृपया आफ्नै छोरी ठानेर सहयोग गरिदिनुहोला ।’

गुरु कुलले एक लाख सहयोग गर्ने उनी बेलबारी ३ मा रहेको गुरुकुल पाठशालामा कक्षा १ मा अध्ययनरत छिन् । उनी अध्ययनरत विद्यालयले १ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । शुक्रवार आयोजित पत्रकार सम्मेलनमा नै विद्यालयका प्रिन्सिपल कुमार खुलालले विद्यालयको तर्फबाट १ लाख रुपैयाँ सहयोग गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्