जमिन कटान न्यूनीकरण गर्न बेलबारी नगरपालिकाद्वारा प्रोकोपाइन निर्माण


बेलबारी, २० श्रावण । निरन्तर वर्षाले लोहोन्द्र र चिसाङ खोलाबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न बेलबारी नगरपालिकाले प्रोकोपाइन निर्माण गरेको छ । जोखिम क्षेत्रको अनुगमन पश्चात् नगरपालिकाद्वारा प्रोकोपाइन निर्माण गरिएको हो ।

बेलबारी नगरपालिकाले वडा नं. १ को लोहोन्द्रमा एक र वडा नं. ७ र ८ को चिसाङमा ३ गरी जम्मा ४ ठाउँमा प्रोकोपाइन निर्माण गरेको छ । लोहोन्द्र र चिसाङ खोलाले स्थानीयलाई त्रसित बनाइ रहेको बेला निर्माण गरिएको प्रोकोपाइनले केही राहत मिलेको स्थानीय बताउँछन् ।

बेलबारी ८ निवासी प्रदीप रिजाल भन्छन्, ‘प्रोकोपाइन लगाएर हाम्रो धनजनको क्षतिबाट जोगाएको छ । निर्माण नभएको भए नहरलाई समेत हानी गर्थ्यो । वडा नं.७ र ८ लाई चिसाङ खोलाले पहिले देखीनै धेरै क्षति गरेको छ । बेलबारी नगरपालिकाका प्रमुख खोला-खोला कुदेर दुख गरेर यो सम्भव भएको हो ।’

मापदण्ड विपरीत उत्खनन भएकोले चिसाङ र लोहोन्द्र खोलाको गहिरिएसँगै जमिनको कटान बढी भइरहेको स्थानीय बताउँछन् । स्थानीय जीवन कटुवालका अनुसार बेलबारी ८ मा चिसाङ खोलाले ५२ साल देखी १०० औँ कट्ठा जमिन कटान गरी सकेको छ । उनी भन्छन्,‘फुटबल खेल्ने मैदान थियो । अहिले सबै कटान भयो । बस्ती नजिक छ । बस्तीमा खोला पस्ला भन्ने डर हुन्छ । खोला ठेक्का लाग्दा जथाभाबी मनपरी खनिदिन्छ । ठेकेदारले टेर्दैन ।’


जमिन कटानसँगै बाढीले पुल भत्काइदिँदा आवतजावतमा समेत अवरोध सृजना भएको छ । बेलबारी ८ मा गयर खोलाको पुल भत्किएको छ । पक्की पुल भत्किँदा आवतजावतमा अवरोध भएको धर्मराज कटुवाल बताउँछन् । गाईबस्तु समेत वारिपारि गर्न नपाएको कटुवाल भन्छन् ।

अनुगमनमा नगर प्रमुख राईसँगै उपप्रमुख नितु थापा, सम्बन्धित वडाका अध्यक्ष साथै प्राविधिक टोली निरन्तर हिँडिरहेका छन् । अनुगमन पश्चात् उच्च जोखिम क्षेत्रमा तत्काल प्रोकोपाइन निर्माण गरेता पनि दीर्घकालीन समाधानको तयारी अनिवार्य गर्नु पर्ने नगर प्रमुख राई बताउँछन् । लोहोन्द्र र चिसाङमा पूर्ण तटबन्धन गर्न स्थानीय सरकारबाट मात्र सम्भव नहुने हुँदा प्रदेश र संघिय सरकारले सहयोग गर्न बताउँदै राईले आग्रह पनि गरेका छन् ।

बाढीको जोखिम विगतमा मापदण्ड विपरीत उत्खनन भएको कारणले पनि बढ्दै गएको नगर प्रमुख राई बताउँछन् । राई भन्छन्, जोखिम न्यूनीकरण गर्नलाई खोला ठेक्का लागे पनि बेल्चाको प्रयोगले मात्र उत्खनन गर्न पाउने छ । स्काभेटर जस्तो उत्खनन गर्ने मेसिन प्रयोग गर्नबाट निषेध गर्ने हामीले निर्णय गरेका छौ ।’

बेलबारीवासीलाई निरन्तर वर्षको कारण सम्भावित जोखिमबाट सुरक्षित रहन समेत राईले आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्