बेलबारी नगरपालिकाद्वारा लक्ष्मीलाई स्वागत


बेलबारी, २९ फागुन । नेपाल आइडलको चौथो संस्करणको टप पाँचमा पुगेकी गायिका लक्ष्मी पौडेललाई बेलबारी नगरपालिकाले स्वागत गरेको छ । आइतवार दिउसो आयोजित कार्यक्रममा नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले पौडेललाई स्वागत गरेका हुन् ।

बेलबारी १ मा रहेको नगपालिकाको नयाँ भवनको सभाहलमा आयोजित कार्यक्रममा वडा नं ३ का अध्यक्ष एवम् नगरप्रवक्ता योगेन्द्र सुवेदी, प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारी महेन्द्र खड्का, शिक्षा शाखा प्रमुख भूपेन्द्र कोइराला, बेलबारी जेसिसका अध्यक्ष नवराज सुवेदी, जनप्रतिनिधि तथा नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

नगरप्रमुख सुवेदीले लक्ष्मीले बेलबारीको सान बढाएको बताउँदै उनलाई सम्मान गर्न पाउँदा सिङ्गो नगरपालिका गौरवान्वित भएको बताए । नगरले कला र साहित्यको विकासमा विशेष जोड दिएको सन्दर्भ जोड्दै नगरप्रमुख सुवेदीले बेलबारीकी चेली लक्ष्मीलाई भोट गरेर उनको नेपाल आइडल बन्ने सपना पुरा गर्न सहयोग गर्न आग्रहसमेत गरे ।

गायिका पौडेलले सम्मानका लागि नगरप्रमुखसहित नगरपालिका परिवारप्रति आभार व्यक्त गर्दै नगरकै आर्थिक सहयोगमा संचालन भएको बेलबारी आइडलले आफूलाई आजको यो अवस्थामा पुर्याएको बताइन् । साथै उनले अमूल्य भोट गरेर यो टप पाँचमा पुर्याएकोमा सबैप्रति आभार व्यक्त गर्दै अब अन्तिम पटक भोट गरेर नेपाल आइडल बन्न सहयोग गर्न आग्रहसमेत गरिन् ।

प्रतिक्रिया दिनुहोस्