सुन्दरहरैँचा, ६ जेठ । देशैभर कोरोनाको सङ्क्रमण उच्च भएर महामारीकै रूप लिइरहेको छ । महामारीको रूप लिइरहँदा कति ठाउँमा त उपचारको अभावमा धेरै बिरामीले ज्यानसमेत गुमाएको खबर सार्वजनिक भइरहेको छ । कतिपय स्थानमा त कोरोनाको डरले आएका अन्य रोगकै विराम लाईसमेत उपचार गर्न डराइरहेको बेलामा मोरङको सुन्दरहरैँचा नगरपालिकाले भने भने स्वास्थ्यकर्मीलाई सङ्क्रमितको घरघरमा पुगेर सेवा दिने व्यवस्था मिलाएको छ ।
नगरपालिकाले कोरोना सङ्क्रमणको बेला बृद्धबृद्धा, अपाङ्गता भएका, दीर्घ रोगीहरूलाई प्राथमिकतामा राखेको छ । उनीहरूले नियमित रूपमा प्रयोग गर्नु पर्ने औषधि आधारभूत स्वास्थ्य केन्द्रबाट प्रदान हुने सेवा सहज रूपमा पुगून् भनेर स्वास्थ्यकर्मीको माध्यमबाट जनताको घरदैलोमै पु¥याउने गरेको, यस्तो महामारीको बेलामा स्वास्थ्यभन्दा अरू ठूलो कुरा केही नभएकोले नगरपालिकाले नागरिकको स्वास्थ्यमा पहिलो प्राथमिकता राखेर काम गरिरहेको सुन्दरहरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल बताउँछन् ।
नगरवासीले स्वास्थ्य समस्याका कारण अकालमै ज्यान नगुमाउन भनेर नगरपालिकाले गछिया र बिराटचौकमा स्वास्थ्य साहयता केन्द्र तथा २ ठाउँमा आइसोलेशन केन्द्र निर्माण गरिसकेको छ भने कोभिड अस्पताल निर्माण गर्न नगरपालिका लागि परेको नगरप्रमुख ढकाल बताउँछन् ।
साथै नगरपालिकाले कोरोना सङ्क्रमणका कारण मृत्यु हुने व्यक्तिको शव व्यवस्थापन देखि लिएर एम्बुलेन्स सेवा, घरदैलो स्वास्थ्य सेवा समेत निःशुल्क गरिरहेकोसमेत प्रमुख ढकालले बताए । सुन्दरहरैँचा नगरपालिकाले अहिले कोरोना सङ्क्रमितलाई लक्षित गरेर गठन गरेको क्विक रिस्पोन्स टिमले सङ्क्रमितको घर घरमा पुगेर उनीहरूको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने गरेको छ ।
नगरपालिकाका प्रमुखको संयोजकत्वमा गठन भएको यो टिममा प्रत्येक वाडाका अध्यक्ष र स्वास्थ्यकर्मी रहेका छन् । यस टिमले सङ्क्रमितका घरघरमा पुगेर उनीहरूलाई आवश्यक औषधिका साथै स्वास्थ्यसँग सम्बन्धित आवश्यक परामर्शसमेत दिने गरेको छ । कोरोनाको महामारीका बाबाजुत पनि कोरोनाको त्रासमा बाँचिरहेको नागरबासीको सेवा गर्न पाएकोमा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू पनि खुसी देखिन्छन् । ‘यस्तो बेलामा जनतामा त्रास छ, के गर्न हुने के गर्न नहुने भन्ने अन्योलको अवस्थामा घरघरमा पुगेर थप सेवा दिन पाएका छौँ । स्वास्थ्यकर्मी भएकोमा गर्व गरेका छौँ ।’ टिममा संलग्न स्वास्थ्यकर्मी बाबुराम आचार्यले बताए ।
नगरपालिकाको यो कदमप्रति नगरबासी पनि त्यतिकै खुसी देखिएको छन् । नगरपालिकाले आफ्नो अभिभावकको जिम्मेदारी निभाएको प्रतिक्रिया दिएका छन् । सङ्क्रमित परिवारका एक जना सदस्यले भने ‘हामी त्यतिकै डराइरहेका थियौँ । उहाँहरूले आएर यसो गर्नु, डराउनु पर्दैन, हामी साथमा छौँ भन्नु भयो । त्यति भन्दा पनि हामीलाई ठूलो मनोबल बढेको छ ।’
उता कोरोनाले महामारीको रूप लिए पछि सुन्दरदुलारी उद्योग वाणिज्य सङ्घको सक्रियतामा अक्सिजन सिलिन्डर सङ्कलन गरेर नगरपालिकालाई बुझाउने काम भएको छ । सुन्दरदुलारी उद्योग वाणिज्य सङ्घले आफूनिकट व्यवसायीहरूसँग भएका सिलिण्डर सङ्कलन गरेर नगरपालिकालाई बुझाएको हो ।
उद्योग वाणिज्य सङ्घले दिएका सिलिण्डर बुझ्दै नगरप्रमुख शिवप्रसाद ढकालले वाणिज्य सङ्गलाई धन्यवाद दिँदै यी सिलिन्डरको उचित प्रयोग हुने आश्वासन दिएका थिए । व्यापार व्यवसायका अतिरिक्त आफूहरूको सामाजिक दायित्व पनि रहेकोले अक्सिजनको अभावमा नगरवासीले ज्यान गुमाउनु नपरोस् भनेर नगरपालिकालाई अक्सिजन सिलिन्डर उपलब्ध गराएको सुन्दर दुलारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष किशोर कार्कीले बताएका छन् । साथै अध्यक्ष कार्कीले यस कार्यलाई निरन्तरता दिने बताएका छन् ।
सुन्दरहरैंचा नगरपालिकाका कोरोना फोकल पर्सन अजून भटट्राईले दिएको जानकारी अनुसार हालसम्म दोस्रो लहरका कारण ७ जनाको मृत्यु भइसकेको छ भने ४९२ जना भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।
कोरोना लागेका बिमारीहरू उपचार नपाएर अकालमा मृत्युवरण गरिरहेको बेलामा सुन्दरहरैँचा नगरपालिकाले गरेको यस्तो कदमले एउटा सकारात्मक सन्देश प्रवाह गरेको छ । यस्तो विषम पिर स्थितिमा पनि सङ्क्रमितको घरघरमा पुगेर सेवा दिने स्वास्थ्यकर्मी र त्यो व्यवस्थापन गर्ने नगरपालिकाको सिङ्गो टिम प्रशंसाका पात्र बन्न सफल भएका छन् ।