कोरोना कहरबिच विकास निर्माणका काम निरन्तर चल्दै : स्वास्थ्य मापदण्डको पूर्ण पालनामा जोड


बेलबारी, ४ जेठ । कोरोना सङ्क्रमणका कारण देशै थप्प भइरहेको बेलामा बेलबारीमा भने विकास निर्माणका कामले निरन्तरता पाइरहेका छन् । गत वर्ष विकास निर्माणका काम चल्दै गर्दा चैत्र दोस्रो साताबाट लकडाउन सुरु भयो । लकडाउन सुरु भए पछि राज्यको ध्यान जनताको स्वास्थ्यमा गयो । राज्यको पुरै ध्यान जनताको स्वास्थ्यमा गए पछि विकास निर्माणका काम थप्प नै भए । यस पटक पनि कोरोनाको त्रास पुनः सुरु भएको छ ।

कोरोनाले विभिन्न नयाँ रूपमा देखा पर्दै आएको परिप्रेक्ष्यमा विकास निर्माणका कामलाई सँगसँगै लैजानु पर्ने अहिले आवश्यकता रहेको, सोही तथ्यलाई मध्यनजर राखेर नगरपालिकाले विकास निर्माणका कामलाई नरोकेको बेलबारी नगरपालिकाले जनाएको छ । त्यसो त सङ्घीय सरकारले पनि विकास निर्माणका कामलाई अवरोध नपुर्याउने नीति लिएको देखिन्छ । 

विकास निर्माणका कामलाई निरन्तरता दिने सरकारको नीति अनुसार नै सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरेर विकास निर्माणका कामलाई निरन्तरता दिएको बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदी बताउँछन् । यतिखेर अरू सवारीसाधनलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ तर निर्माण सामाग्री बोक्ने सवारी साधनहरू निर्बाध रूपमा आफ्नो काम गरिरहेका छन् । गाउँ गाउँमा पुग्दा विकास निर्माणका कामहरू पनि नियमित रूपमा चरिलरेका देखिन्छन् । स्थानीयहरू पनि जति सक्दो चाँडो निर्माणाधीन योजनाहरू पुरा गर्ने ध्याउन्नमा देखिन्छन् । 

कोरोना कहरबिच पनि विकास निर्माणका काम नरोक्ने बेलबारी नगरपालिकाको यो कदमलाई स्थानीयले पनि सकारात्मक रुपा लिएका छन् । कोरोना कोरोना भनेर सधैँ डराएर केही नगरी बस्ने हो भने विकास निर्माणका काम सधैँ पछि पर्ने हुँदा यसलाई नियमित गर्ने नगरपालिकाको निर्णय उपयुक्त भएको प्रतिक्रिया दिएका छन् । बेलबारी ३ का डिल्ली जमरकट्टेल यसलाई बेलबारीको विशेषताकै रूपमा लिएको बताउँछन् । तर यसरी विकास निर्माणका कामलाई अगाडि बढाउँदा सामाजिक दुरी कायम गरेर नियमित गर्नु पर्ने उनको मत रहेको छ ।

कोरोना सङ्क्रमणबिच पनि विकास निर्माणका काम चलिरहँदा स्थानीयहरू खुसी देखिए पनि यसले कोरोना सङ्क्रमण बढाउन  कतै सहयोगी भूमिका त खेल्दैन भन्ने स्थानीयमा त्रास पनि उत्तिकै रहेको छ । यही सवालमा निर्माण उपभोक्ता समितिमा समेत रहेका बेलबारी २ का प्रदीप गिरी कोरोनाको त्रास मनमा रहे पनि समयमा काम पूरा गर्नु पर्ने भएको विकास निर्माणका कामलाई निरन्तरता दिनु परेको बताउँछन् । उनी स्वास्थ्य मापदण्ड पूरा गरेरै काम गरिएकोले हुँनाले त्रसित हुनुपर्ने अवस्था नरहेको पनि बताउँछन् ।

विकास निरन्तर चलिरहने प्रक्रिया हो र यो चलिरहनु पर्छ, कोरोना सँग अभ्यस्त हुँदै अन्य गतिविधिलाई पनि सँगसँगै लैजाने नगरपालिकाको काम राम्रो भए पनि यसैका कारणले कोरोनाको जोखिम बढ्न दिने काम भने कहीँ कतैबाट पनि हुनुहुँदैन । तसर्थ यसरी सञ्चालन भइरहेका स्थानमा स्वास्थ्यको मापदण्डमा कतिको कढाइ भएको छ भन्ने कुरामा स्थानीय सरकार बढी सचेत हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्