निषेधाज्ञाको पहिलो दिन : निषेधाज्ञा तोड्नेलाई होल्ड गर्दै प्रहरी प्रशासन (फोटो फिचर)


बेलबारी २५ वैशाख । निषेधाज्ञाको समयमासमेत जथाभाबी रूपमा सडकमा निस्किने क्रम बढेपछि प्रहरी प्रशासनले त्यसलाई कडाइ गर्न थालेको छ ।         

कोरोनाको महामारी बढ्दै गए पछि जिल्ला प्रशासन कार्यालय मोरङले वैशाख २४ गते राती १२ बजेदेखि लागु हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरिए पनि त्यसको अटेर गरेर सडकमा निस्कने क्रम बढे पछि प्रहरी प्रशासनले त्यसलाई कडाइ गर्न थालेको हो । निषेधाज्ञाको पहिलो दिन बेलबारी, सुन्दरहरैँचा तथा केराबारी लगायतका उत्तरी मोरङको अवस्था सामान्य रहेको पाइयो । 

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक सरोज खनालले  निषेधाज्ञाको उल्लङ्घन गर्ने केही सवारी साधन तथा यात्रुहरूलाई केहीवेर होल्डमा लिएर छाडेको बताएको छ । प्रमुख खनालले धेरैजसो यात्रु तथा सवारी चालकहरूले आफूहरूलाई थाहा नभएको बताए पछि पहिलो चरणमा सम्झाइ बुझाइ गरेर छाडिएको बताए ।                                                 

ट्राफिक प्रहरी पोष्ट कार्यालय बेलबारीका प्रमुख प्रेम कुमार शाह सरकारद्वारा जारी निषेधाज्ञालाई सफल पार्न आफूहरू बिहानैदेखि खटिरहेको बताए ।                            

यता कारबाहीमा परेका केही यात्रु तथा सवारी चालकहरूले भने आफूहरूलाई  निषेधाज्ञाको बारेमा जानकारी नै नभएको बताएका थिए ।  तर प्रहरी प्रशासनले गरेको कडाइलाई भने आफूहरूले स्वाभाविक रूपमा लिएको प्रतिक्रिया दिएका थिए । होल्डमा परेका एक जना सवारी चालकले भने ‘उहाँहरूले हाम्रै सुरक्षका लागि यसो गर्नु भएको हो । यसमा हाम्रो कुनै गुनासो छैन ।’ 

प्रतिक्रिया दिनुहोस्