ट्राफिक प्रहरीको “तपाईँको माक्स खै“ अभियान


सुन्दरहरैँचा, १५ बैशाख। कोरोनाको त्रास देशैभर बढिरहेको बेलामा कोरोना सम्बन्धी जनचेतना फैलाउने अभिप्रायका साथ प्रहरीहरू सक्रिय देखिएका छन् । प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालयले सञ्चालनमा ल्याएको “तपाईँको माक्स खै“ अभियानलाई सफल पार्न ट्राफिक प्रहरीहरू तथा जनपथ प्रहरी संयुक्त रूपमा लागिरहेका छन् ।

यो अभियान अन्तरगत रहेर प्रहरीहरू सडकमा प्रत्येक यात्रुलाई रोकेर माक्सको प्रयोग र यसको महत्त्वको बारेमा जानकारी गराइरहेको भेटिन्छन् । दण्ड तथा जरिवानाबाट टाढै भाग्ने यात्रुहरूसमेत प्रहरीले यसरी रोकेर माक्सको बारेमा गरेको सोधखोज र यसको उपयोगिताको बारेमा जानकारी गराउँदा खुसी देखिन्छन् । उनीहरू यसको निरन्तरताको कामनासमेत गर्दछन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको यो अभियान अन्तरगत प्रदेश १ का ८४ वटा पोष्टहरुमा यो अभियान सुरु भएको अस्थायी ट्राफिक प्रहरी पोस्ट सुन्दरहरैँचाका प्रमुख किशोर कुमार निरौला बताउँछन् । इलाका प्रहरी कार्यालय सुन्दरहरैँका प्रमुख प्रहरी नायव निरीक्षक नवीन कुमार प्रधान यो अभियानलाई सफल पार्न आफूहरूले ट्राफिक प्रहरीको सहयोगमा नगरपालिका, उद्योग वाणिज्य सङ्घ लगायत संघ संस्थासँग सहकार्य गरेर यो कार्यक्रमलाई अगाडि बढाइरहेको बत्ताउँछन् ।

उनी नगरका विभिन्न चोकचोकमा पुगेर “तपाईँको माक्स खोइ“ अभियान सञ्चालन गरिरहँदा सबैको साथ सहयोग पाएको बत्ताउँछन् । यता सडकमा भेटिएका सुन्दरहरैँचा जनप्रतिनिधिसमेत रहेका नगेन्द्र सुवेदी ट्राफिक प्रहरीले सञ्चालन गरेको यो अभियान महत्त्वपूर्ण रहेको बताउँछन् । यसलाई थप व्यवस्थित गरेर अगाडि बढाउनु पर्ने उनको मत रहेको छ । कोरोनाको त्रासबाट देशै ग्रसित भैरहेको बेलामा ट्राफिक प्रहरीले सञ्चालन गरेको अभियान महत्त्वपूर्ण रहेको यसको सफलताका लागि हरेक नागरिकले सोच्नुपर्ने बेला आएको छ ।

प्रतिक्रिया दिनुहोस्