पहिलो पटक बेलबारीको एक कोरोना संक्रमितको मृत्यु


बेलबारी, १२ भदौ । बेलबारी नगरपालिकाका कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ । कोरोना संक्रमणको कारण बेलबारीमा यो पहिलो मृत्यु हो ।

वाड नं. ५ निवासी ५६ वर्षीय महिलाको धरान स्थित वी.पी अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको आज शुक्रबार मृत्यु भएको बेलबारी स्वास्थ्य शाखाले जनाकारी दिएको छ ।

बेलबारी स्वास्थ्य शाखाका अनुसार मृतक महिला मिर्गौलाको समस्याको कारण उपचारको लागि शुक्रबार ५ गते मोरङ सहकारी अस्पताल, विराटनगर गएकी थिइन । मोरङ सहकारी अस्पतालबाट आइताबार ७ गते कोशी अस्पताल रिफर भएकी उनको सोमबार ८ गते पीसीआर परीक्षण रिर्पोट पोजेटिभ देखिए पछि उपचारको लागि  वी.पीमा पठाइएको थियो । उनीलाई वी.पीमा सोमबार बेलुका नै पठाइएको थियो।

उपचाररत महिलाको आज बिहान करिब ३ बजे मृत्यु भएको सन्तोषले जनाएका छन् । बेलबारीमा कोरोना संक्रमित संख्या २३ पुगेको छ भने ५ जना निको भएर घर फर्किसकेका छन् । २३ संक्रमित मध्य ३ जना बेलबारीको आइसोलेसन वार्डमा रहेका छन् । सन्तोषका अनुसार बेलबारी क्वारेनटाइनमा २१ जना पुरुष ५ जना महिलामा छन् ।

 

प्रतिक्रिया दिनुहोस्