भारतसँगको हवाई मार्ग सहमतिमाथि हर्क साम्पाङको प्रश्न : ‘राष्ट्रघात हो त्यो’


काठमाडौं । भारतसँगको हवाई मार्गसम्बन्धी छलफल र सहमतिलाई लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् । उनले नेपाली आकाश र हवाई मार्गसम्बन्धी विषयमा राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत सरकारप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

साम्पाङले ‘मैले धेरै बोल्दा देशलाई केही घाटा छैन तर तिमीले नबोली नबोली नेपाली आकाश भारतलाई सुम्पँदा घाटा छ, राष्ट्रघात हो त्यो’ भन्दै टिप्पणी गरेको अभिव्यक्ति सार्वजनिक भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच नागरिक उड्डयनसम्बन्धी विषयमा महत्त्वपूर्ण समझदारी भएको छ । दुई देशले हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको काठमाडौँ-भैरहवा-लखनउ (बी-३४५) हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति गरेका हुन् । यससँगै उक्त मार्गबाट नेपालबाट बाहिरिने मात्र नभई नेपाल भित्रिने उडानसमेत सञ्चालन गर्न सकिने व्यवस्था अघि बढ्नेछ ।

तर, उक्त सहमति कार्यान्वयनका लागि आवश्यक प्राविधिक प्रक्रिया भने पूरा हुन बाँकी छ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले भारतसँग भैरहवाको हवाई मार्गबाहेक अन्य कुनै हवाई मार्गका विषयमा सहमति नभएको स्पष्ट पारेका छन् । उनले बागडोगरा विमानस्थलका लागि नेपाली आकाश प्रयोग गर्ने विषयमा पनि कुनै सहमति नभएको बताएका छन् ।

यसअघि भारतले बागडोगरा विमानस्थलसँग जोडिने हवाई मार्ग प्रयोग गर्न चाहेको र त्यसमा सैनिक विमानको विषयसमेत उठेको समाचार सार्वजनिक भएका थिए । तर भारतीय पक्षले भने नेपाली आकाश हुँदै सैनिक विमान सञ्चालनका लागि कुनै प्रस्ताव नराखिएको दाबी गरेको थियो । त्यसैले सैनिक विमानलाई नेपाली आकाश प्रयोग गर्न दिने सहमति भएको भन्ने दाबी पुष्टि हुँदैन ।

नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेश मार्गको माग गर्दै आएको छ । विशेष गरी भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक उडान विस्तार तथा सिमरा हवाई मार्गमा रहेको चाप घटाउन थप प्रवेशमार्ग आवश्यक रहेको नेपालको तर्क छ ।

यसरी, भारतसँग भएको पछिल्लो सहमति भैरहवाको बी-३४५ हवाई मार्गलाई दुईतर्फी बनाउने विषयमा केन्द्रित छ । भारतीय सैनिक विमानलाई नेपाली आकाश प्रयोग गर्न दिने वा नेपालको आकाश भारतलाई सुम्पने सहमति भएको आधिकारिक विवरण भने सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस्