सुन्दरहरैँचा फुड फेस्टिभल तत्काल बन्द गर्न निर्देशन : अनुमति सर्त उल्लङ्घनको आरोप


विराटचोक । मोरङको सुन्दरहरैँचा नगरपालिका-१०, विराटचोकस्थित औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेको सुन्दरहरैँचा फुड फेस्टिभल-२०८३ तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालय, मोरङले निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले २०८३ कात्तिक ३ गते जिल्ला प्रहरी कार्यालय, मोरङलाई पत्राचार गर्दै फेस्टिभल बन्द गराउन निर्देशन दिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा हस्ताक्षरित पत्रमा आयोजकले कार्यक्रम सञ्चालनका लागि अनुमति दिँदा तोकिएका सर्त उल्लङ्घन गरेको र स्थानीयवासीबाट सार्वजनिक शान्ति तथा सुव्यवस्थामा खलल पुगेको भन्दै पटक-पटक गुनासो आएको उल्लेख छ ।

प्रशासनको पत्रअनुसार, फेस्टिभल सञ्चालनका क्रममा अनुमति पत्रमा उल्लेखित सर्त नम्बर १, ४, ६ र १६ उल्लङ्घन भएको जनाइएको छ । ती सर्तमा कार्यक्रम राति ९ बजेसम्म बन्द गर्नुपर्ने, मादक पदार्थ सेवन गरी कार्यक्रमस्थल प्रवेश गर्न नदिने, आवासीय क्षेत्रमा ध्वनि प्रदूषण गर्न नपाइने तथा परम्परा रीतिरिवाजमा खलल पुग्ने गरी उच्छृङ्खल, अश्लील वा भड्किलो प्रस्तुति गर्न नपाइने व्यवस्था छन् ।

पत्रमा शान्ति सुरक्षामा चुनौती सिर्जना भएको उल्लेख गर्दै अनुमति पत्रका सर्त नम्बर ७, १२, १४ र १९ बमोजिम फेस्टिभल तत्काल बन्द गर्न भनिएको छ । ती सर्तले सुरक्षा निकायलाई आवश्यक परे कार्यक्रम बन्द गर्न सक्ने, शान्ति सुरक्षामा असर परे तत्काल रोक्न सक्ने, अनुगमनका क्रममा कमजोरी देखिए बन्द गर्न सक्ने तथा प्रचलित कानुनविपरीत कार्य भए कारबाही गर्न सकिने व्यवस्था गरेका छन् ।

यसअघि जिल्ला प्रशासन कार्यालयले असोज ८ गते फेस्टिभल सञ्चालनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो । सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घको आयोजनामा असोज २५ देखि कात्तिक १० गतेसम्म फेस्टिभल सञ्चालन गर्ने अनुमति दिइएको थियो ।

फेस्टिभलको उद्घाटन सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले गरेका थिए । स्थानीय खाद्य परिकार, उत्पादन, व्यापार, पर्यटन तथा कला-संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको फेस्टिभलमा विभिन्न व्यावसायिक तथा प्रवर्द्धनात्मक स्टल राखिएको थियो ।

प्रशासनको पछिल्लो निर्देशनसँगै निर्धारित समयभन्दा अगावै फेस्टिभल बन्द गर्नुपर्ने अवस्था आएको छ । यद्यपि, अनुमति सर्त उल्लङ्घन भएको भनिएका घटनाको विस्तृत विवरण र आयोजकको आधिकारिक प्रतिक्रिया सार्वजनिक रूपमा पुष्टि हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्