काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि नेपाली काँग्रेसका सभापति गगन थापा ले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । उनले उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका हुन् ।
पार्टी स्रोतका अनुसार केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएसँगै थापाले राजीनामा दिएका हुन् । यद्यपि उनको राजीनामा पत्र सार्वजनिक गरिएको छैन। पार्टीका एक पदाधिकारीले राजीनामा दिएको पुष्टि गर्दै उक्त विषयमा औपचारिक निर्णय भने आगामी केन्द्रीय कार्यसमिति बैठकले गर्ने बताएका छन् ।
काँग्रेसले चैत ६ गते दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ, जहाँ थापाको राजीनामाबारे छलफल र निर्णय हुनेछ । पार्टी विधानअनुसार सभापतिले राजीनामा दिने अधिकार भए पनि त्यसलाई स्वीकृत गर्ने वा नगर्ने अधिकार केन्द्रीय कार्यसमितिमा निहित रहनेछ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेपछि थापामाथि नैतिक जिम्मेवारी लिन दबाब बढ्दै गएको थियो। उनी स्वयं सर्लाही-४ बाट चुनाव लड्दै अमरेशकुमार सिंह सँग पराजित भएका थिए । सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दै विजयी हुँदा थापाले २२ हजार ८३१ मत मात्रै पाएका थिए ।
काँग्रेसले “अबकि बार, सय पार” भन्ने नारा लिएर चुनावमा होमिए पनि प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिटसहित जम्मा ३८ सिटमा सीमित भएको छ । पार्टीका अधिकांश शीर्ष नेताहरू नै पराजित भएपछि नेतृत्वमाथि तीव्र आलोचना हुँदै आएको थियो ।
थापा नेतृत्वमा रहेको वर्तमान केन्द्रीय कार्यसमिति गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डप मा सम्पन्न विशेष महाधिवेशनबाट चयन भएको थियो । उक्त महाधिवेशनको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले दायर गरेको मुद्दा हाल सर्वोच्च अदालत मा विचाराधीन छ ।
विशेष महाधिवेशन आह्वानको प्रक्रियालाई लिएर पार्टीभित्र मतभेद रहे पनि सोही प्रक्रियाबाट निर्वाचित नेतृत्वकै हस्ताक्षरमा पार्टी निर्वाचनमा सहभागी भएको थियो । तत्कालीन अवस्थामा थापा र शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा विशेष महाधिवेशन डाकेका थिए ।
राजीनामापछि अब थापाले अध्यक्षता गर्ने बैठकसमेत नबस्ने सम्भावना रहेको नेताहरूले बताएका छन् । केही नेताहरूले भने केन्द्रीय समितिले राजीनामा अस्वीकृत गर्दै उनलाई फिर्ता लिन आग्रह गर्न सक्ने संकेत गरेका छन् ।


