काठमाडौँ । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठुलो परिमाणमा ग्यास सिलिन्डर स्टक गरेर राखिएको भेटिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा पुगेको बजार अनुगमन टोलीले डिपोमा हजारौँ सिलिन्डर मौज्दात राखिएको फेला पारेपछि उद्योगमाथि कारबाही गरेको हो।
विभागका अनुसार अनुगमनका क्रममा १४.२ केजी क्षमताका ६ हजार ३७७ वटा भरिएका ग्यास सिलिन्डर डिपोमै स्टोर गरेर राखिएको भेटिएको थियो। बजारमा ग्यास अभावका कारण उपभोक्ताले घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेकै बेला उद्योगले उक्त सिलिन्डर बजारमा पठाउन आनाकानी गरेको पनि अनुगमन टोलीले पत्ता लगाएको जनाएको छ।
उपभोक्तालाई प्रत्यक्ष मर्का पर्ने गरी ग्यासको कृत्रिम अभाव सिर्जना गरेको ठहर गर्दै विभागले उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरेको छ। विभागले ऐनको दफा १६ अनुसार ‘अनुचित व्यापारिक क्रियाकलाप’ गरेको कसुरमा दफा ३९ (१) (ख) बमोजिम ३ लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ।
विभागले जरिवानासँगै डिपोमा मौज्दात रहेका सबै सिलिन्डर तत्काल बजारमा पठाउन निर्देशन दिएको छ। नेपाल आयल निगमको समन्वयमा ६ हजार ३७७ वटा सिलिन्डर आजकै मितिबाट उपभोक्तालाई बिक्री वितरण गर्न उद्योगलाई निर्देशन दिइएको विभागले जनाएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीका अनुसार सहज रूपमा ग्यास आपूर्ति हुनुपर्ने अवस्थामा डिपोमै सिलिन्डर जम्मा गरेर राख्नु उपभोक्तामाथि अन्याय हुने कार्य हो। उनले बजारमा अभाव देखाएर सिलिन्डर होल्ड गर्नु कानुनविपरीत भएको उल्लेख गर्दै यस्ता गतिविधि दोहोरिए कडा कारबाही गरिने चेतावनी दिए।
विभागका अनुसार बजारमा ग्यास नपाएर सर्वसाधारणले घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहँदा ठुलो परिमाणमा सिलिन्डर रोकिराख्नु कालोबजारीको आशंका बढाउने कार्य हो। यस्तो गतिविधिले बजारमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई सास्ती दिने गरेको विभागको भनाइ छ।
यता श्रीराम ग्याससँग आबद्ध केही बिक्रेताहरूले भने उद्योगबाट समयमै ग्यास आपूर्ति नभएका कारण उपभोक्तालाई सहज रूपमा बिक्री गर्न नसकेको दाबी गरेका छन्।
यस घटनापछि विभागले बजारमा ग्यास अभाव भइरहेका बेला अन्य ग्यास उद्योगहरूको गतिविधिमाथि पनि निगरानी बढाइएको जनाएको छ। कालोबजारी, होल्डिङ वा कृत्रिम अभाव सिर्जना गरेको पाइए सम्बन्धित उद्योग तथा व्यवसायीमाथि कडा कानुनी कारबाही गरिने विभागले चेतावनी दिएको छ।


