काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको आन्तरिक गृहकार्य सुरु गरेको छ । पार्टीका वरिष्ठ नेता तथा सम्भावित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकार गठनको संरचना, मन्त्रालयको आकार र मन्त्री छनोटसम्बन्धी विषयमा आन्तरिक गृहकार्य सुरु गरेको स्रोतले जनाएको छ ।
हाल पार्टीभित्र सरकारको स्वरूप, मन्त्रालयको संख्या र जिम्मेवारी बाँडफाँटबारे प्रारम्भिक छलफल भइरहेको बताइएको छ । आमनिर्वाचनमा रास्वपाले स्पष्ट बहुमत प्राप्त गरेसँगै बालेन नेतृत्वको सरकार गठन लगभग निश्चित देखिएको छ। प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सांसदको समर्थन प्राप्त हुने अवस्था बनेपछि बालेन नेपालको संसदीय इतिहासमै अत्यन्त बलियो जनमतसहित प्रधानमन्त्री बन्ने अवस्थामा पुगेका छन् । यदि थप दुई सांसदको समर्थन प्राप्त भए दुई तिहाइ बहुमत पुग्ने भएकाले संसदमा अझ शक्तिशाली सरकार बन्ने सम्भावना देखिएको छ ।
यद्यपि समानुपातिकतर्फको सांसद संख्या औपचारिक रूपमा टुंगिएपछि मात्र मन्त्रीहरूको टुंगो लगाइने बताइएको छ । निर्वाचन आयोग बाट समानुपातिकतर्फको अन्तिम सूची प्राप्त भएपछि रास्वपाले पार्टी बैठकमार्फत मन्त्री छनोटको प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
सरकार गठनको सन्दर्भमा सांसदबाहिरका विज्ञ व्यक्तिलाई मन्त्री बनाउने विषयमा पनि चर्चा भए पनि स्रोतले त्यस्तो सम्भावना कम रहेको जनाएको छ । नेपालको संविधानअनुसार गैरसांसदलाई पनि मन्त्री नियुक्त गर्न सकिने भए पनि त्यस्ता व्यक्तिले छ महिनाभित्र संसद सदस्य बन्नुपर्ने व्यवस्था छ । वर्तमान परिस्थितिमा त्यस्तो व्यवस्थापन गर्न कठिन हुने भएकाले बालेनले सांसदहरूमध्येबाटै क्षमता, अनुभव र विज्ञताको आधारमा मन्त्री चयन गर्ने योजना बनाइरहेको बुझिएको छ ।
यसका साथै बालेनले सरकारको संरचना सानो र प्रभावकारी बनाउने लक्ष्यसहित मन्त्रालयको संख्या घटाउने विषयमा पनि विचार गरिरहेका छन् । संविधानअनुसार एक सरकारमा अधिकतम २५ मन्त्री रहन सक्ने प्रावधान भए पनि हाल २२ मन्त्रालय रहेको संरचनालाई घटाएर करिब १४ वा १५ मन्त्रालयमा सीमित गर्ने सोच उनले अघि सारेका छन् ।
विगतमा प्रशासन सुधारसम्बन्धी विभिन्न अध्ययन तथा आयोगहरूले पनि मन्त्रालयको संख्या घटाउन सुझाव दिएका थिए। विशेष गरी प्रशासन सुधार सुझाव आयोग र आर्थिक सुधारसम्बन्धी कार्यदलले राज्य संयन्त्रलाई चुस्त र प्रभावकारी बनाउन मन्त्रालयको आकार सानो बनाउनुपर्ने धारणा राख्दै आएका छन् । उक्त आर्थिक सुधार कार्यदलका संयोजक डा. रामेश्वर खनाल हाल अन्तरिम सरकारका अर्थमन्त्रीका रूपमा कार्यरत छन् ।


