निर्वाचन परिणामपछि एमालेले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ : सुरेन्द्र पाण्डे


काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम सार्वजनिक भइरहेका बेला नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले पार्टीले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताएका छन् । उनले निर्वाचन परिणामले एमाले नेतृत्व र संगठनलाई गहिरो रूपमा सोच्न बाध्य बनाएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पाण्डेले जनताले दिएको सन्देशलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका छन् । उनका अनुसार अहिले दोषारोपण गरेर उम्किने अवस्था नभई पार्टीको संगठनात्मक संरचना, कार्यशैली तथा नेतृत्व अभ्यासमै ठोस सुधार गर्ने समय आएको छ । उनले लेखेका छन्, “निर्वाचनको पछिल्लो परिणामले हामी सबैलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ। जनताले दिएको सन्देश स्पष्ट छ, अब एमालेले गम्भीर आत्मसमीक्षा गर्दै आफ्नो संरचना, कार्यशैली र नेतृत्वको अभ्यासमै ठोस सुधार गर्नुपर्ने बेला आएको छ ।”

पाण्डेले पार्टीका नेता-कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै जनविश्वास गुम्नुका कारणहरू इमानदारीपूर्वक स्वीकार गर्नुपर्ने बताए । उनका अनुसार संगठनले आफ्ना कमजोरीबाट पाठ सिकेर सुधारको बाटो समातेमा मात्र पुनः जनताको भरोसा जित्न सकिन्छ । “जनविश्वास गुम्नुको कारणलाई इमानदारीपूर्वक स्वीकार गरेर त्यसबाट पाठ सिक्न सके मात्र संगठन अघि बढ्न सक्छ,” उनले भने, “आफ्ना गल्ती सच्याउने साहस, नेतृत्व शैलीमा परिवर्तन र कार्यपद्धतिमा सुधार गर्न सके फेरि जनताको भरोसा जित्न सकिन्छ ।”

यसैबिच पाण्डेले निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विजयी उम्मेदवारहरूलाई बधाई पनि दिएका छन् । उनले लोकतान्त्रिक प्रतिस्पर्धामा जनमतको सम्मान गर्नु सबै राजनीतिक दलको दायित्व भएको उल्लेख गर्दै परिणामलाई सकारात्मक रूपमा लिएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्